काठमाडौँ। नेपाल नेत्रज्योति सङ्घ र लहान आँखा तथा कान उपचार प्रणालीको आयोजना तथा सीबीएम ग्लोबलको सहयोगमा ‘एक्सेसिबिलिटी गो ! अ गाइड टु एक्सन’सम्बन्धी पाँचदिने कार्यशाला विराटनगरमा सुरु भएको छ ।
कार्यशालामा देशभरबाट अपाङ्गता भएका व्यक्तिहरूका संस्था, सरकारी निकाय, आँखा स्वास्थ्य क्षेत्र तथा विकास साझेदार संस्थाका प्रतिनिधिसहित ४३ जनाको सहभागिता रहेको छ ।
नेपालमा आँखा स्वास्थ्य सेवामा पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोग्नुपर्ने समस्या तथा अवरोध पहिचान गरी त्यसको व्यावहारिक समाधान खोजिने सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विश्व दृष्टिविहीन सङ्घ र सीबीएम ग्लोबलले विकास गरेको ‘एक्सेसिबिलिटी गो ! अ गाइड टु एक्सन’ आँखा स्वास्थ्य संस्थालाई क्रमशः थप पहुँचयोग्य र समावेशी बनाउन तयार गरिएको व्यावहारिक मार्गदर्शन हो । यसले स्वास्थ्य संस्थाको भौतिक संरचना तथा परिसर, प्रशासनिक प्रक्रिया, सेवा प्रवाह र सार्वजनिक सञ्चारमा पहुँच अभिवृद्धि गर्ने उपायहरू समिटिएका छन् ।
कार्यशालामा उक्त मार्गदर्शनमा समेटिएका सातवटा पहुँचसम्बन्धी प्रतिबद्धतालाई स्थानीय आवश्यकता र परिवेशअनुसार कार्यान्वयन गर्ने विषयमा छलफल हुने विज्ञप्तिमा जनाइएको छ । त्यसका लागि मूल्याङ्कन, योजना, कार्यान्वयन र समीक्षा समेटिएको तीन चरणीय प्रक्रियाका बारेमा सहभागीलाई जानकारी गराइनेछ ।
सङ्घका अनुसार सेवा प्रदायक र सेवा ग्रहणकर्तालाई एउटै मञ्चमा ल्याएर छलफल गरिनु कार्यशालाको महत्त्वपूर्ण पक्ष हो । सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूका प्रत्यक्ष अनुभव सुन्ने, बिरामीले स्वास्थ्य सेवा प्राप्त गर्ने विभिन्न चरणमा देखिने अवरोध पहिचान गर्ने तथा त्यस्ता अवरोध हटाउन आवश्यक उपायबारे संयुक्त रूपमा कार्ययोजना तयार गर्नेछन् ।
कार्यशालामा समूहगत अभ्यास, छलफल, अनुभव आदानप्रदान, आत्मसमीक्षा र सहकर्मी सिकाइका माध्यमबाट सहभागीलाई सक्रिय रूपमा जोडिनेछ । नेपालले स्वीकार गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको मर्मअनुसार समावेशी स्वास्थ्य सेवा प्रवर्द्धनका लागि आवश्यक पैरवीलाई समेत कार्यशालाले अघि बढाउने अपेक्षा गरिएको छ ।
लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख निर्देशक सुधीर ठाकुरले पहुँच योग्यता स्वास्थ्य सेवाको अतिरिक्त सुविधा नभई समान आधारमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारसँग जोडिएको विषय भएको बताउनुभयो ।
“अपाङ्गता भएका व्यक्तिहरूले सम्मान र समानताका आधारमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ । उनीहरूका वास्तविक अनुभव सुनेर त्यसबाट सिक्दै आँखा स्वास्थ्य सेवामा व्यावहारिक सुधार ल्याउन कार्यशालाले महत्त्वपूर्ण सहयोग पुर्याउने छ”, उहाँले भन्नुभयो ।
डेफब्लाइन्ड एसोसिएसन मोरङकी अध्यक्ष तथा श्रवणदृष्टिविहीन स्ववकालतकर्ता कृष्णमाया अधिकारीले पहुँचयोग्य सेवाको विकासमा अपाङ्गता भएका व्यक्तिहरूको अनुभवलाई सुरुदेखि नै समेट्नुपर्ने बताउनुभयो ।
“सेवा वा संरचना निर्माण भइसकेपछि मात्र पहुँचको विषय सोच्ने होइन, सुरुदेखि नै योजना र डिजाइनमा यसलाई समेटिनुपर्छ । अपाङ्गता भएका व्यक्तिहरूका संस्था र सेवा प्रदायकबीच सहकार्य भएमा वास्तविक समस्या पहिचान गरी आवश्यकतामा आधारित समाधान विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
कार्यशालाबाट प्राप्त सुझाव र सिकाइका आधारमा सहभागीहरूले नेपालमा समावेशी आँखा स्वास्थ्य सेवाको सुदृढीकरणका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्नेछन् ।
सङ्घका अनुसार अपाङ्गता भएका व्यक्तिहरूका संस्था, आँखा स्वास्थ्य क्षेत्र, सरकारी निकाय तथा विकास साझेदारबीचको सहकार्यलाई संस्थागत गर्दै पहुँचयोग्यतालाई स्वास्थ्य संस्थाको दैनिक योजना, सेवा प्रवाह र जवाफदेहिताको अभिन्न पक्षका रूपमा स्थापित गर्नु कार्यशालाको दीर्घकालीन उद्देश्य हो । रासस








