१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’
अ अ+ अ-

झापा।  पूर्वी पहाडको तेह्रथुमको छथरबाट ३६ वर्षअघि झापा झर्दा डम्बरबहादुर लिम्बूको एउटै सपना थियो– आफ्नै नाममा एक टुक्रा जमिन र ओत लाग्ने स्थायी घर तर समयले ५५ वसन्त पार गरिसक्दा पनि उहाँको त्यो सपना भने अधुरै थियो ।

डम्बरबहादुरका बुबा राजबहादुर लिम्बूले जीवित रहँदा ‘लालपुर्जा’ शब्द त धेरै पटक सुन्नुभयो, तर आफ्नै नाममा देख्न र छुन पाउनुभएन । बुद्धशान्ति गाउँपालिका–४ जुनेलीस्थित आफू बस्दै आएको घर र भोगचलन गर्दै आएको जमिनको स्वामित्व आफ्नो नाममा नहुँदा कतै उठिबास हुनुपर्ने हो कि भन्ने चिन्ता बुबालाई सधैँ रहने गरेको डम्बरबहादुर सम्झनुहुन्छ ।

बुबाले देख्न नपाएको त्यही लालपुर्जाको प्रतीक्षा डम्बरबहादुरले पनि वर्षौंसम्म गरिरहनुभयो । प्रतीक्षा पूरा हुनुअघि नै पाँच वर्षअघि बुबाको निधन भयो । बुबाको अधुरो सपना बोकेर बसेका डम्बरबहादुरका लागि मङ्गलबार भने त्यो लामो प्रतीक्षाको अन्त्य भयो ।

गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा ३५ वर्षदेखि घर बनाएर बस्दै आएको जमिनको ‘जग्गाधनी दर्ता प्रमाण पुर्जा’ जब ५५ वर्षीय लिम्बूको हातमा पर्यो, उहाँका आँखा खुसीले रसाए । वर्षौंको सङ्घर्ष र बुबाको सम्झना एकैपटक मनमा आए । ३६ वर्षदेखि भोगचलन गर्दै आएको जमिनको वैधानिक स्वामित्व प्राप्त गरेको त्यो क्षणमा उहाँले जीवनकै ठूलो भारी बिसाएजस्तो महसुस गर्नुभयो ।

“ढिलै भए पनि पुर्जा पाइयो,” खुसी व्यक्त गर्दै लिम्बूले भन्नुभयो, “बुबाले त लालपुर्जा देख्न नपाई बित्नुभयो । उहाँले जीवनभर देख्न चाहेको लालपुर्जा आज मेरो हातमा परेको छ । आफ्नै पालामा जमिनको अधिकार पाउँदा बुबाको सम्झना झन् आयो । घरमा हुनुभएकी बूढीआमा यो खबर सुनेर निकै खुसी हुनुहुन्छ होला । अब आफ्नै नाममा जमिन भएकामा ढुक्क भएको छु, सन्तानका लागि केही सुरक्षित भयो भन्ने लागेको छ ।”

डम्बरबहादुर मात्र होइन, जुनेली बस्तीकै ५३ वर्षीया सरस्वती राई र ५० वर्षीया सविता थेवेको अनुहारमा पनि मङ्गलबार उस्तै खुसी झल्किएको थियो । वर्षौंदेखि आफ्नो नाममा जग्गाको स्वामित्व आउने प्रतीक्षामा रहेका उहाँहरूका लागि हातमा परेको लालपुर्जा कागजको प्रमाणभन्दा धेरै ठूलो बनेको थियो । लामो समयदेखि बोकेको भूमिहीन वा अव्यवस्थित बसोबासीको परिचयबाट बाहिर निस्किएर आफ्नै नाममा जमिन भएको अनुभूति उहाँहरूमा देखिन्थ्यो ।

खुसी मिश्रित स्वरमा सरस्वतीले भन्नुभयो, “पुर्जा नहुँदा न त बैङ्कबाट ऋण पाइने, न त आफ्नो जमिन भनेर गर्व गर्न सकिने । आज आफ्नै नामको रातोपुर्जा हातमा पर्दा वर्षौंदेखिको पीडा र अनिश्चितता बिर्सिएजस्तो भएको छ ।” त्यस्तै, सविता थेवेले थप्नुभयो, “आफ्नो नामको जमिन नहुँदा सधैँ सुकुम्वासीको बिल्ला भिरेर बाँच्नुपरेको थियो । यही ठाउँमा घर बनाएर बस्यौँ, दुःख ग¥यौँ, छोराछोरी हुर्कायौँ, तर जमिन भने आफ्नो थिएन । आज हामीले नागरिक हुनुको साँचो अनुभूति पाएका छौँ ।”

डम्बरबहादुर, सरस्वती र सवितासहित जुनेलीका २६ जना अव्यवस्थित बसोबासीले मङ्गलबार जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेका हुन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले उहाँहरुलाई प्रमाण पुर्जा वितरण गरेको हो ।

तीन दशकदेखिको सङ्घर्ष

पुर्जा वितरण कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष शेरबहादुर रायले भूमि प्राप्तिको सङ्घर्ष लामो र निरन्तर रहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको पहिलो निर्वाचनदेखि नै वडाका अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

“हामी निर्वाचित भएर आएदेखि नै वडावासीको हातमा लालपुर्जा कसरी दिलाउने भनेर धेरै मेहनत गरेका छौँ,” उहाँले भन्नुभयो, “यसबीचमा विभिन्न आयोग बन्ने र भत्किने क्रम चलिरह्यो । त्यसकारण काम सोचेजस्तो अगाडि बढ्न सकेन । पुरानै कामलाई निरन्तरता दिँदै अहिले क्रमशः लालपुर्जा वितरण गर्ने चरणमा पुगेका छौँ ।”

उहाँले लालपुर्जा केवल जग्गाको स्वामित्व प्रमाणित गर्ने कागज मात्र नभई पुस्तौँदेखि रहँदै आएको असुरक्षाको अन्त्य भएको बताउनुभयो । “यो केवल एउटा कागजको टुक्रा मात्र होइन, पुस्तौँपुस्ताले भोगेको असुरक्षाको अन्त्य हो,” उहाँले भन्नुभयो ।

गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले नागरिकको सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवनका लागि भूमिको अधिकार आवश्यक रहेको बताउनुभयो । सार्वजनिक बिदाको दिनमा समेत भूमिसम्बन्धी कामलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । वर्षौंदेखि भूमिको स्वामित्वको प्रतीक्षामा रहेका परिवारले लालपुर्जा प्राप्त गर्दा उनीहरूको अनुहारमा देखिएको खुसी र सन्तोषले अभियानको वास्तविक महत्व र सार्थकता स्पष्ट गरेको उहाँको भनाइ थियो ।

पटक–पटक फेरिएका आयोगले पारेको असर

गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले पटकपटक आयोग परिवर्तन हुँदा भूमि समस्या समाधानको काम प्रभावित हुँदै आएको बताउनुभयो । उहाँले बाँकी रहेका वास्तविक लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरी लालपुर्जा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

“पटकपटक आयोग फेरिँदा भूमि समस्या समाधानको कामले निरन्तरता पाउन सकेन । त्यसको असर हामीले पनि भोग्नुप¥यो,” उहाँले भन्नुभयो, “अब भने बाँकी रहेका नागरिकलाई प्रक्रिया पूरा गरी लालपुर्जा उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखेका छौँ । जिल्ला भूमि समस्या समाधान समितिसँग आवश्यक समन्वय गरेर कामलाई तीव्रता दिइरहेका छौँ ।”

गाउँपालिकाका भूमि शाखा प्रमुख देवेन्द्र कटुवालका अनुसार पालिकाले विभिन्न चरणमा लालपुर्जा वितरण गरेको थियो । उहाँका अनुसार विसं २०७९ असारमा ४२, २०८२ असारमा १४८ र २०८३ असारमा पाँच भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गरिसकेका छन् ।

पालिकाभित्र अझै १४८ भूमिहीन सुकुम्वासी, ३१ भूमिहीन दलित र छ हजार २२३ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । लगत सङ्कलनको काम सम्पन्न भइसकेको र बाँकी प्रक्रियालाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

‘वास्तविक हकदारले मात्र पुर्जा पाऊन्’

जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले वास्तविक लाभग्राहीले मात्र जग्गाधनी दर्ता प्रमाण पुर्जा पाऊन् भन्नेमा प्रशासन सजग रहेको बताउनुभयो । उहाँले भूमि समस्या समाधानको प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउँदै योग्य नागरिकलाई कानुनी प्रक्रियामार्फत पुर्जा उपलब्ध गराउने काम तीव्रताका साथ भइरहेको जानकारी दिनुभयो ।

“वास्तविक हकदारले मात्रै जग्गाको स्वामित्व पाऊन् भन्नेमा हामी सचेत छौँ । कसैको हक नखोसियोस् र वास्तविक लाभग्राही छुट्न नपरोस् भन्ने गरी प्रक्रिया अघि बढाइएको छ,” उहाँले भन्नुभयो, “सम्बन्धित वडाले सात दिने हकदाबी सूचना प्रकाशन गरेर दाबी–विरोधको प्रक्रिया पूरा गर्छ । वडा तहबाट निर्णय भएपछि पालिकाले पुनः प्रमाणीकरण गर्छ र त्यसपछि जिल्ला समितिबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जग्गाधनी पुर्जा वितरण गरिन्छ ।”

उहाँले भूमि समस्या समाधानको कामलाई सेवाग्राहीमैत्री बनाउँदै अनावश्यक झन्झट कम गर्ने प्रयास भइरहेको बताउनुभयो । “सेवा र सेवाग्राहीलाई जोड्ने र उनीहरूको सन्तुष्टि हुने गरी सेवा प्रवाह गर्न हामी लागिपरेका छौँ,” उहाँले भन्नुभयो, “प्रक्रियामा देखिएका समस्या स्थानीय तहबाट समाधान हुन नसके जिल्ला हुँदै केन्द्रस्तरसम्म समन्वय गरेर समाधान गर्ने व्यवस्था मिलाइएको छ ।”

जग्गाको स्वामित्व पाएसँगै अब त्यसलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बन्नुपर्ने उहाँको सुझाव छ । “पुर्जा हातमा पाउनु सुरुआत हो, अब प्राप्त जग्गालाई उत्पादनसँग जोडेर आम्दानीको आधार बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

नापी कार्यालय भद्रपुरका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव शिवप्रसाद लम्सालका अनुसार जिल्लाका अर्जुनधारा, कन्काई र मेचीनगरमा लालपुर्जा वितरणको काम निरन्तर भइरहेको छ । अन्य स्थानीय तहमा पनि प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । रासस