५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल श्रमसंस्कृति र अर्थतन्त्रको आधारसमेत हो: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । उहाँले खेलकुद अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको स्पष्ट पार्नुभएको छ ।

काठमाडौँको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स सङ्घको आयोजनामा आयोजित १६औँ एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा प्रधानमन्त्रीले भन्नुभयो, “आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ ।”

उहाँले खेलको महत्वलाई ठीक ढङ्गले बुझ्न सक्नेले मात्रै राष्ट्रको सही नेतृत्व गर्न सक्ने तथा जनआकाङ्क्षा सम्बोधन गर्न सक्ने उल्लेख गर्नुभयो । खेलक्षेत्र विविधतामा एकता, सुशासन, दिगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकामा हामी सबैले गौरव गर्नैपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्रीले अगाडि भन्नुभयो, “खेल कूटनीतिमार्फत ठूला–ठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूल्ठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुन:मिलनका आधार खडा भएको छ ।” उहाँले खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको समेत स्पष्ट पार्नुभयो ।

कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइने गरेको भए पनि अहिले समय फेरिएको भन्दै प्रधानमन्त्री दाहालले आजको युगमा खेलकुद राष्ट्रको गौरव बढाउने माध्यमका रूपमा समेत विकास भएको बताउनुभयो ।

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधारका रूपमा चित्रण गर्दै प्रधानमन्त्रीले सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न तथा अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ । साथै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिनेछ ।”

प्रधानमन्त्रीले दुई दशकभन्दा लामो समयपछि नेपाललाई एसियन क्रस कन्ट्री च्याम्पियनसीपको आयोजनाको अवसर दिने एसियन एथलेटिक्स एसोसिएसन परिवारलाई सरकारको तर्फबाट धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा समेत नेपाल सो संस्थाको उच्च प्राथमिकतामा पर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

प्रतियोगितालाई शानदाररूपमा सफल पार्न भूमिका खेल्ने सरकारी र गैरसरकारी क्षेत्रका सबै संस्था र प्रतिनिधिप्रति प्रधानमन्त्रीले आभार प्रकट गर्नुभयो । च्याम्पियनसीपमा भाग लिने नेपालसहित ११ देशका खेलाडीमा प्रतियोगितामा राम्रो प्रस्तुतिको अपेक्षासहित उहाँले शुभकामना व्यक्त गर्नुभयो । रासस