काठमाडौं । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ।
यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ अनुसार सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउन पुरानो निर्देशिकामा विभिन्न व्यवस्था थप गर्दै नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ।
नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०/१० वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकताअनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य रहेको छ।
निर्देशिकाअनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। यसले प्रसवका बेला आमालाई मानसिक तथा भावनात्मक सहयोग पुग्नुका साथै सुरक्षित प्रसव सेवामा समेत मद्दत गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र जन्मिएलगत्तै सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। यसले आमा र शिशुबीचको सम्पर्क बढाउनुका साथै स्तनपानको सुरुआत र निरन्तरतामा सहयोग पुर्याउनेछ।
निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ को प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएको छ। आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री, वितरण तथा प्रवर्द्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्ने लक्ष्य राखिएको छ।
सुत्केरी आमा र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित स्वास्थ्य समस्याको पहिचान गर्ने व्यवस्था निर्देशिकामा समेटिएको छ। यसका लागि प्रत्येक स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्नेछ।
नयाँ निर्देशिकाले स्तनपानका लागि अनुकूल वातावरण निर्माण, आमालाई आवश्यक सहयोग, नवजात शिशुको उचित हेरचाह तथा आमा र शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्ने व्यवस्थालाई जोड दिएको छ।
प्रसवदेखि सुत्केरीपछिको अवस्थासम्म मातृ तथा नवजात शिशुमैत्री सेवाको निरन्तरता सुनिश्चित गर्दै स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तर सुधार गर्ने र स्तनपानलाई थप व्यवस्थित रूपमा संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित नयाँ निर्देशिका जारी गरिएको हो।








