काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि स्रोत परिचालन गरिदिन एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेका छन्।
थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन त्यहाँ रहेका अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको हो।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले नेपालले हालै भोगेको विनाशकारी बाढीपछि पुनरुत्थानका कार्यक्रम अघि बढाउन तथा भविष्यमा जलवायुजन्य विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न उत्थानशील पूर्वाधार निर्माणमा सहयोग गर्न एडिबीका अध्यक्ष कान्दासँग आग्रह गरेका हुन्।
विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्याउन आपत्कालीन अनुदान छिटो स्वीकृत गरेकोमा अर्थमन्त्री वाग्लेले एडिबीप्रति नेपालको तर्फबाट आभार व्यक्त गरे। उनले विपद्पछिको पुनर्निर्माणसँगै नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता अघि बढाउन विकास साझेदारको सहयोग महत्त्वपूर्ण हुने बताए।
भेटमा एडिबीका अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताए। उनले नेपालको विकास प्रयासमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्याय र अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।








