काठमाडौं । स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ व्यवस्था गरेको छ। मन्त्रालयले जारी गरेको ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ ले प्रसूति सेवाका क्रममा पर्दा वा छेकबारको व्यवस्था गरी आमाको गोपनीयता कायम गर्नुपर्ने प्रावधानलाई प्राथमिकता दिएको छ।
यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ अनुसार सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको हो।
नयाँ निर्देशिकाअनुसार प्रसूति सेवा प्रदान गर्दा आमाको व्यक्तिगत गोपनीयता र मर्यादाको सम्मान गर्नुपर्नेछ। एउटै कक्षमा एकभन्दा बढी सुत्केरी राखिएको अवस्थामा पनि प्रत्येक आमाको शारीरिक गोपनीयता कायम हुने गरी पर्दा वा छेकबारको व्यवस्था गर्नुपर्नेछ।
प्रसूति सेवाका क्रममा आमाले सहज, सुरक्षित र सम्मानजनक वातावरणमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् तथा आफ्नो गोपनीयता सुरक्षित रहेको महसुस गर्न सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
निर्देशिकाले प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने विषयलाई समेत प्राथमिकता दिएको छ। त्यस्तै, जन्मिएपछि नवजात शिशुलाई आमासँगै राख्ने र सम्भव भएसम्म जन्मिएको छिट्टै स्तनपान गराउने व्यवस्थालाई पनि जोड दिइएको छ।
यसैगरी, सुत्केरी आमा र नवजात शिशु घर फर्किएपछि आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकामा समेटिएको छ। यसले अस्पतालबाट घर फर्किएपछि पनि आमा र नवजात शिशुले आवश्यक सहयोग तथा परामर्श प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
नयाँ निर्देशिकाले प्रसूति सेवामा आमाको गोपनीयता, सम्मान र सहजतालाई प्राथमिकतामा राख्दै मातृ तथा नवजात शिशुमैत्री स्वास्थ्य सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।








