२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग

इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग
अ अ+ अ-

काठमाडौं । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट (Immunosuppressant) वर्गका औषधिको बजारमा बिक्री–वितरण र प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। नयाँ उत्पादन तथा आयातमा लगाइएको रोकलाई बजारमा उपलब्ध औषधिको बिक्री बन्द गरिएको भन्दै फैलाइएको भ्रममा नपर्न विभागले सर्वसाधारण र बिरामीलाई आग्रह गरेको छ।

विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको जनाएको छ। ती औषधिका दर्ता प्रमाणपत्रसमेत खारेज हुने भए पनि यसअघि नै बजारमा आइसकेका औषधिको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध नलगाइएको विभागले स्पष्ट पारेको हो।

अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घकालीन रोग भएका बिरामीले नियमित सेवन गर्नुपर्ने औषधिको आपूर्तिमा अभाव हुन नदिन विभाग प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक रहेका उद्योग तथा आयातकर्तालाई बजारमा आपूर्तिको सन्तुलन कायम गर्न बढीमा तीन महिनासम्म उत्पादन तथा आयात गर्न अनुमति दिई प्रमाणपत्र नवीकरण गरिएको विभागले जनाएको छ।

विभागका अनुसार औषधिको गुणस्तर र सुरक्षा सुनिश्चित गर्नुका साथै एक औषधिको प्रभाव अर्को औषधिमा पर्न सक्ने जोखिम अर्थात् क्रस-कन्टामिनेसन न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक व्यवस्था लागू गरिएको हो। यसका लागि विश्व स्वास्थ्य संगठनको प्राविधिक मापदण्डअनुरूप जोखिम व्यवस्थापन, सफाइ प्रमाणीकरण, छुट्टै हावा आवतजावत प्रणाली र स्वास्थ्यमा आधारित जोखिम सीमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। जोखिमका आधारमा सम्बन्धित औषधि छुट्टै उत्पादन सुविधामा उत्पादन गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको विभागले जनाएको छ।

औषधिको सहज उपलब्धता सुनिश्चित गर्न नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि आयातकर्ता संघ तथा नेपाल औषधि व्यवसायी संघसँग समन्वय भइरहेको विभागले जनाएको छ। यससम्बन्धी मापदण्ड र आवश्यक व्यवस्थाबारे विभागले यसअघि नै २०८३ वैशाख १५ र जेठ २१ गते सार्वजनिक सूचना जारी गरेको थियो। अहिले सोही व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको विभागको भनाइ छ।

विभागले जारी गरेको सूचनाविपरीत नयाँ उत्पादन वा आयात गरिएका औषधिको प्रयोगबाट कुनै व्यक्तिमा प्रतिकूल असर परेमा त्यसको सम्पूर्ण जिम्मेवारी औषधि उपलब्ध गराउने वा प्रयोग गराउने निकाय अथवा व्यक्तिले लिनुपर्ने चेतावनीसमेत दिएको छ।

विभागले बिरामीलाई चिकित्सकको परामर्शअनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न आग्रह गरेको छ। साथै, औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्री–वितरण बन्द गरिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको छ।

यस विषयमा थप जानकारी लिन वा गुनासो गर्न विभागका सूचना अधिकारी निनु श्रेष्ठलाई ९७४८३००१०९ वा ९८५१४३१३३३ तथा गुनासो सुन्ने अधिकारी शम्भु शाहलाई ९८१५०५२७७१ वा ९८५१४३०२२२ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।