काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले गर्ने विश्वासमा समेत निहित रहेको बताउनुभएको छ ।
सोमवार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल प्रहरीलाई प्रविधिमैत्री, पारदर्शी, व्यावसायिक र नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको हो ।
आईजीपी कार्कीले साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता बदलिँदा सुरक्षा चुनौतीको सामना गर्न प्रहरीले आफ्नो कार्यशैलीमा व्यापक परिवर्तन गर्नुपर्ने बताउनुभयो । आधुनिक सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम बौद्धिकता (एआई) को विवेकपूर्ण प्रयोग गर्दै मानवअधिकार, कानूनी प्रक्रिया र व्यावसायिक विवेकलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।
प्रहरी कर्मचारी व्यक्तिगत धारणा, बाह्य प्रभाव र अनुचित दबाबबाट मुक्त रही कानूनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो । कानून कार्यान्वयन गर्नु मात्र पर्याप्त नहुने उल्लेख गर्दै कार्कीले त्यसको प्रक्रिया पनि निष्पक्ष, पारदर्शी, सम्मानजनक र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नागरिकले प्रहरीको निर्णयसँग असहमति जनाए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । प्रहरी संगठनप्रति नागरिकको विश्वास कायम राख्न व्यवहार र कार्यसम्पादन दुवैमा व्यावसायिकता देखाउनुपर्ने उहाँको भनाइ थियो ।
आईजीपी कार्कीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा विशेष संवेदनशीलता अपनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । यस्ता घटनामा गोपनीयता कायम गर्दै पीडितकेन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।
प्रहरीलाई नागरिकको सहयोगी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न मातहतका कर्मचारीले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले नागरिकको विश्वास नै संगठनको महत्वपूर्ण शक्ति भएको उल्लेख गर्नुभयो ।
दीक्षान्त समारोहमा प्रहरी निरीक्षक आधारभूत तालिम पूरा गरेका १८४औँ समूहका अधिकृतहरूलाई सम्बोधन गर्दै कार्कीले संविधान र प्रचलित कानूनप्रति प्रतिबद्ध रही निष्पक्ष तथा व्यावसायिक ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको हो ।








