काठमाडौँ । सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालनका लागि नेपालतर्फको सडकमा कुनै ठूलो समस्या नरहेको बताउनुभएको छ।
चिनियाँ पक्षले नेपालतर्फको सडकको अवस्था कमजोर रहेको कारण देखाउँदै तातोपानी नाका बन्द गरेपछि नेपाल र चीनका अधिकारीसहितको संयुक्त टोलीले पहिरो प्रभावित सडकको अनुगमन गरेको थियो। अनुगमनका क्रममा भण्डारीले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।
उहाँका अनुसार वर्षायाममा समेत कोदारी राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए। वर्षा रोकिएसँगै अहिले दुईतर्फी सवारी सञ्चालनका लागि सडक सुधारको काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो।
“सडकको हिसाबले गाडी पास नहुने अवस्था छैन। केही सुधार गर्नुपर्ने भए एक–दुई दिनमै गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “दुईतर्फी सञ्चालनका लागि बढीमा चार दिनको समय पाएमा सडक तयार हुन्छ।”
भण्डारीले पछिल्लो समय नेपालतर्फको सडकका कारण सवारी आवागमन रोकिएको भन्ने सन्देश गएको भए पनि वास्तविक अवस्था त्यस्तो नरहेको दाबी गर्नुभयो। उहाँका अनुसार पछिल्लो समय ४५ फिटका ५७ वटा कन्टेनर नेपालतर्फबाट पास भएका छन्। सडकमा अड्किएका लोडेड सवारीसाधनसमेत गन्तव्यतर्फ पठाइसकिएको उहाँले बताउनुभयो।
नाका सञ्चालनमा आएपछि सडकका कारण सवारीसाधन रोकिने अवस्था नरहेको उल्लेख गर्दै उहाँले जुनसुकै किसिमका सवारीसाधन र मालवाहक कन्टेनर सञ्चालन गर्न सडक विभाग तयार रहेको बताउनुभयो।
कोदारी राजमार्गमा पहिरो गएपछि तातोपानी नाका बन्द रहेको छ। यसैगरी भदौ १० गते रसुवामा आएको बाढीका कारण केरुङ नाका तथा पछिल्लो बाढीपहिरोका कारण मुस्ताङको कोरला नाका पनि प्रभावित छन्। चीनतर्फका प्रमुख नाकाहरू प्रभावित भएपछि सरकारले तातोपानी नाका सञ्चालनमा ल्याउन पहल गरिरहेको छ।








