काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उत्कृष्ट लयमा रहँदै शिर्षस्थानमा रहेको आर्सनल च्याम्पियन्स लिगमा पनि निकै लयमा रहेको छ ।
टोलिले गएराति चेक रिपब्लिकन क्लब एसके स्लाभिया प्रागलाई उसकै मैदानमा ३–० गोलले हरायो । आर्सनलको जितमा मिकेल मेरिनोले दुई तथा बुकायो साकाले एक गोल गरे । ३२ औं मिनेटमा साकाले पेनाल्टीमार्फत गोल गर्दै टोलिलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ४६ औं र ६८ औं मिनेटमा मेरिनोले गोल थपे ।
आर्सनलको यो लगातार चौंथो जित हो भने अचम्मको कुरा टोलिले अहिलेसम्म एक गोल पनि खाएको छैन । यसमानेमा आर्सनलले कीर्तिमान नै राख्यो । च्याम्पियन्स लिगमा लगातार चार खेलमा क्लिनसिट राख्दै आर्सनलले कीर्तिमान राखेको हो ।
आर्सनलले पहिलो खेलमा एथ्लेटिक विल्बाओलाई २–० ले हराएको थियो । यस्तै, दोस्रो खेलमा ओलिम्पियाकसलाई पनि २–० ले हराउँदा तेस्रो खेलमा एट्लेटिको मड्रिडलाई ४–० ले हरायो ।
योसँगै आर्सनल ४ खेलबाट १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।










