काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले काठमाडौंको कमलादीस्थित रुस्काज ब्युटी स्टुडियोमा सौन्दर्यसम्बन्धी विभिन्न सेवा तथा तालिममा विशेष छुट पाउने भएका छन् ।
स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, रुस्काज ब्युटी स्टुडियो र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी सेवा तथा सुविधामा विशेष छुट दिने सम्झौता भएको हो ।
सम्झौताअन्तर्गत प्रभु बैंकका ग्राहकले ५ देखि २० प्रतिशतसम्म तथा कर्मचारीले ५ देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् । छुट सुविधा रुस्काज ब्युटी स्टुडियोमा उपलब्ध विभिन्न सौन्दर्य सेवामा लागू हुनेछ ।
स्टुडियोमा कपाल काट्ने, थ्रेडिङ, सौन्दर्यसम्बन्धी कक्षा, कपालमा रासायनिक उपचार, फेसियल तथा छालाको उपचार, नङ सजाउने तथा हातखुट्टाको सौन्दर्य उपचार, वाक्सिङ, मेकअप तथा मेकअप प्याकेज, सौन्दर्य प्रसाधन र छालाको हेरचाहसम्बन्धी सामग्री उपलब्ध छन् ।
एक समारोहबीच रुस्काज ब्युटी स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज वैद्य श्रेष्ठ र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत, कोशी प्रदेशका प्रमुख चिरञ्जीवी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
समारोहमा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज ब्युटी स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति थियो ।
सम्झौताअनुसार छुट सुविधा लिन प्रभु बैंकका ग्राहकले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एकमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकका कर्मचारीले भने प्रभु बैंकको कर्मचारी परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ।








