काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको दाबी गर्नुभएको छ।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले अघि सारेका सुधारका कदमबाट उक्त दाबी पुष्टि हुँदै गएको बताउनुभयो।
उहाँले रास्वपालाई प्राप्त भएको जनमत विगतका राजनीतिक दलले गरेको बेथितिप्रतिको असन्तुष्टि मात्र नभई भविष्यप्रतिको आशासमेत भएको बताउनुभयो। उक्त आशालाई सरकारले आर्थिक विकासका लक्ष्यमार्फत सम्बोधन गर्न खोजिरहेको उहाँको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले आगामी दशकमा औसत ७ प्रतिशत वास्तविक आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको बताउँदै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको जानकारी दिनुभयो।
उहाँले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सहज नभए पनि दीर्घकालीन रूपमा उच्च आर्थिक वृद्धि हासिल गरेका मुलुकहरूको अनुभवबाट सिकेर अघि बढ्नुपर्ने बताउनुभयो। सरकार र निजी क्षेत्रबीच थप सहकार्य तथा लगानी विस्तारबाट मात्रै उक्त लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ थियो।
वाग्लेले नेपालको आर्थिक विकासका लागि विगतका विकास मोडललाई हुबहु अनुकरण गर्न सम्भव नरहेको बताउँदै २१औँ शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राखेर डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार र प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाउनुपर्ने उहाँले बताउनुभयो। डिजिटल प्रविधिको विस्तारसँगै नेपाली सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहज बन्दै गएकाले त्यसबाट आर्थिक लाभ लिन सकिने उहाँको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीको वातावरण सुधार गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो।







