काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रयोगमा नरहेका विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा वा चार्जर प्लगमै जोडेर छाड्दा कुल विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा विद्युत् खपत हुनसक्ने बताउनुभएको छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री श्रेष्ठले यस्तो अनावश्यक विद्युत् खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भन्ने गरिएको बताउँदै विद्युत्को मितव्ययी प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले टेलिभिजन स्ट्यान्डबाइमा राख्ने, मल्टिप्लगमा चार्जर जोडेर छाड्ने लगायतका कारणले घरघरमा सानो परिमाणमा हुने अनावश्यक खपतले समग्र विद्युत् प्रणालीमा ठूलो प्रभाव पार्नसक्ने बताउनुभयो ।
नेपालमा विद्युत् उपभोक्ताको संख्या करिब ६० देखि ६५ लाख रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्रत्येक घरबाट हुने अनावश्यक खपत घटाउन सके ट्रान्सफर्मरमा पर्ने अतिरिक्त भार कम गर्न र विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले विद्युत्को माग बढिरहेको र पछिल्ला दुईवटा बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएकाले पुनःस्थापनाको काम जारी रहेको अवस्थामा आगामी जाडोयाममा विद्युत्को मितव्ययी प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले विद्युत् बचतको अभियान आम नागरिकमा मात्र सीमित नराखी सरकारी कार्यालयमा समेत प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । राति कार्यालय बन्द भएपछि अनावश्यक बत्ती, हिटर, पंखा, एसीलगायत विद्युतीय उपकरण बन्द गर्ने विषयमा स्थानीय तहदेखि प्रदेश र संघीय सरकारका प्रशासनिक निकायसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
‘खेर गइरहेको विद्युत् किन खेर जान दिने ?’ भन्ने प्रश्न गर्दै मन्त्री श्रेष्ठले विद्युत्को सदुपयोग गर्न कुनै समस्या नभए पनि अनावश्यक खपत नियन्त्रण गर्न सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार विद्युत्को अनावश्यक खपत कम हुँदा ट्रान्सफर्मरमा पर्ने भार घट्नुका साथै विद्युत् आपूर्तिमा समस्या आउने जोखिमसमेत न्यूनीकरण गर्न सहयोग पुग्नेछ । पछिल्ला बाढीबाट ऊर्जा क्षेत्रमा परेको प्रभाव र बढ्दो विद्युत् मागलाई ध्यानमा राख्दै आगामी दिनमा विद्युत्को मितव्ययी प्रयोगलाई जनचेतनाको विषयका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।







