काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका आफ्नो निर्वाचन क्षेत्रमा बजेट माग्नेमा मात्र सीमित हुन नहुने बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लामिछानेले सांसदहरूले राष्ट्रिय ढुकुटी भर्ने नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वाभाविक भए पनि समग्र राष्ट्रिय अर्थतन्त्रको अवस्थाबारे गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भकारी रित्तो राखेर निरन्तर अन्न मागिरहे एक दिन भकारी नै रित्तिने उदाहरण दिँदै नीति निर्माण तहमा रहेका जनप्रतिनिधिको जिम्मेवारी राज्यको ढुकुटी जोगाउने र भर्ने नीति बनाउनु रहेको बताउनुभयो ।
लामिछानेले आगामी हिउँदे अधिवेशनलाई केवल विधेयक पारित गर्ने प्रक्रियामा सीमित नराख्न पनि आग्रह गर्नुभयो । उहाँका अनुसार आगामी संसद् अधिवेशन उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानी आकर्षण र निर्यात प्रवद्र्धन गर्ने ठोस नीति निर्माणको केन्द्र बन्नुपर्छ ।
उहाँले भन्नुभयो, “हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि मात्र होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ ।”
एउटा योजना माग्दा निर्वाचन क्षेत्रका केही मानिस खुसी भए पनि अर्थतन्त्र बलियो बनाउने नीतिबाट सिङ्गो देश र भावी पुस्ता लाभान्वित हुने उहाँले बताउनुभयो । आगामी संसदीय प्राथमिकतामा राष्ट्रिय ढुकुटी भर्ने वातावरण निर्माण गर्ने नीति मुख्य एजेण्डा बन्नुपर्नेमा लामिछानेले जोड दिनुभयो ।







