काठमाडौं । दैलेखको जलजले क्षेत्रमा चिनियाँ प्राविधिक टोलीले गर्दै आएको प्राकृतिक ग्याँस उत्खनन कार्य अचानक रोकिएको विषय प्रतिनिधि सभामा उठेको छ।
नेपाली कांग्रेसका सांसद कालीबहादुर सहकारीले उत्खनन क्षेत्र सुरक्षाकर्मीको नियन्त्रणमा मात्रै रहेको र प्राविधिक तथा विशेषज्ञ टोलीको उपस्थिति नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सहकारीले आफूले असोज १४ गते जलजले क्षेत्रको अनुगमन गर्दा सुरक्षाका लागि खटिएका प्रहरी अधिकृतबाहेक अन्य प्राविधिक वा विशेषज्ञ टोली नभेटिएको बताए। उनका अनुसार उत्खननसँग सम्बन्धित काम पूर्ण रूपमा स्थगित अवस्थामा रहेको देखिएको थियो।
सांसद सहकारीले प्रारम्भिक अध्ययनका क्रममा उक्त क्षेत्रमा कम्तीमा ५० वर्षसम्म पुग्ने मिथेन ग्याँस उत्पादन हुनसक्ने दाबी गरिएको स्मरण गराउँदै राष्ट्रिय महत्वको आयोजनाको काम किन रोकिएको हो भन्नेबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताए।
उनले सरकार र प्राविधिक टोलीबीच समन्वय भए–नभएको तथा उत्खनन कार्य रोकिएको विषयमा कुनै प्रतिवेदन तयार भइरहेको छ कि छैन भन्नेबारे पनि सदनलाई जानकारी गराउन माग गरे।
सहकारीले भने, “यति ठूलो महत्व बोकेको राष्ट्रिय गौरवको आयोजनाका बारेमा सरकार किन बेखबर छ ? सरकार र प्राविधिक टोलीबीच समन्वय छ कि छैन वा कुनै प्रतिवेदन तयार हुँदैछ ?”
उनले मुलुकमा खाना पकाउने ग्याँसको अभाव भइरहेका बेला स्वदेशमै उपलब्ध हुनसक्ने प्राकृतिक ग्याँसको उत्खननमा भइरहेको ढिलाइप्रति समेत आपत्ति जनाए। आयातित ग्याँसमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न स्वदेशी स्रोतको उत्खननलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
सांसद सहकारीले जलजलेको प्राकृतिक ग्याँस उत्खननको वर्तमान अवस्था, काम रोक्नुको कारण र आगामी योजनाबारे सरकारले तत्काल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरे।