काठमाडौं । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदहरूले सोधेका मौखिक तथा लिखित प्रश्नको जवाफ पेश गर्नुका साथै संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू प्रस्तुत गरिएको छ।
राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद ८ बमोजिम सञ्चालित प्रश्नोत्तर कार्यक्रममा सांसद जगत तिमिल्सिनाले अर्थ मन्त्रालयसँग सम्बन्धित सोधेको मौखिक प्रश्नको जवाफ अर्थमन्त्रीको तर्फबाट गृहमन्त्री सुदन गुरुङले सभासमक्ष पेश गर्नुभयो।

त्यस्तै, गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरू पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले उठाएका प्रश्नको जवाफ पनि गृहमन्त्री गुरुङले नै सदनमा प्रस्तुत गर्नुभयो।
पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित सांसदहरू मदनकुमारी साह र पदमबहादुर परियारका मौखिक प्रश्न तथा सांसद सोमनाथ पोर्तेलको लिखित प्रश्नको जवाफ पनि सम्बन्धित मन्त्रीको तर्फबाट सदनमा पेश गरिएको थियो। बैठकमा प्रस्तुत गरिएका प्रश्नका जवाफ अध्ययनका लागि पिजन हलमा राखिएको जानकारी राष्ट्रिय सभा अध्यक्षले गराउनुभयो।
बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०८३, निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र मुस्लिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो।
यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पनि राष्ट्रिय सभासमक्ष पेश गर्नुभयो।







