२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने

बन्दाबन्दीले अल्झाएका विकासका काम

बन्दाबन्दीले अल्झाएका विकासका काम
अ अ+ अ-

बागलुङ  । कोभिड–१९ को प्रकोप नआइदिएको भए यतिबेलासम्म बागलुङ जिल्लाको दक्षिणी क्षेत्र कालोपत्र सडक सञ्जालले जोडिइसक्थ्यो । सदरमुकाम बागलुङ बजारदेखि बलेवाको नारायणस्थान सम्मको सडकमा वर्षामा हिलो र हिउँदमा धुलोले सताउने गर्दछ । कोरोनाका कारण लामो सयम भएको बन्दाबन्दीले गर्दा यहाँको हिलो र धुलो अझै हटाउन सकिएको छैन । 

विसं २०५४ मा एसियाली विकास बैंकको सहयोगमा नयाँ मार्ग खोल्ने काम शुरु भएको बागलुङ कुश्मीशेरा सडक कालोपत्र गर्ने कामका लागि त झन् देशमा राजनीतिक व्यवस्था नै फेरिनु पर्यो । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडक स्तरोन्नतिका लागि पटक–पटक भएका प्रयासका बाबजुद प्रदेश सरकारले थालेको दश किलोमिटर सडक पक्की बनाउने कामलाई समेत बाधाले छोडेन । कुश्मीशेरादेखि बरेङ जोड्ने थप दश किलोमिटरमा थालिएको कालोपत्रको काम पनि प्रभावित भयो । प्रदेश सरकारले कालोपत्रका लागि बजेट विनियोजन गरेपछि बलेवा खण्डमा नाली निर्माण, तारजाली लगाउने र सम्याउने काम भएको थियो ।

भौगोलिक हिसाबले ठूलो भू–भाग कटान गर्न बाँकी झण्डै १०० मिटर बाटोबाहेक पाग्जादेखि पानी ट्याङ्कीको ६ किलोमिटर अघिल्लो आवमै कालोपत्र सक्ने गरी निर्माण कम्पनीले धमाधम काम गरिरहेको थियो । पानी ट्याङ्कीदेखि सरङ्गे सम्मको बाँकी काम चालू आवमा चल्थ्यो । बन्दाबन्दीमा काम गर्ने मजदूरहरु घर फर्किएपछि लामो समय काम रोकियो ।

तीन सय दुईजना मजदूरले काम गरिरहेको अवस्थामा भएको बन्दाबन्दीको समयमा आठ÷दशजना मजदूर मात्रै काममा थिए । उनीहरुले पनि त्रासमै काम गरेको निर्माण कम्पनी कर्ण बिल्डर्सका सञ्चालक नवीन गुरुङ बताउनुहुन्छ । बन्दाबन्दीकै बीच सरकारले ठूला आयोजनाका काम नरोक्न भनेपछि शुरु भएको कामलाई वर्षाले प्रभावित ग¥यो । सम्याएको ढुङ्गामाटो कालीगण्डकीमा मिसिएको छ । भलबाढी तर्काउन बनाएको नाली पहिराले पुरेको छ । सडक अड्याउन बनाइएका मेसिनरी वाल र तारजाली पहिराले बगाएको छ ।

लामो समय बन्द रहेको बलेवा विमानस्थल बागलुङ नगरको पहलमा दुई वर्षपहिले केही समय सञ्चालनमा आयो । नगरले थालेको प्रयासले विमानस्थल कालोपत्रको योजना नागरिक उड्डयन प्राधिकरणबाट पर्यो । धमाधम काम शुरु भएको थियो । माघबाट शुरु भएको काम चैतमा रोकियो । कालोपत्रका लागि आवश्यक पूर्वाधार बनाउन मेसिन चलाउने चालक नै बन्दाबन्दीमा ज्यान बचाउनुपर्छ भनेर हिँडेपछि लामो समय काम रोकिएको बागलुङ नगरपालिका–१४ का वडाअध्यक्ष चक्रबहादुर खत्री बताउनुहुन्छ । दुई वर्षमा सक्नेगरी शुरु भएको यो काम बन्दाबन्दी पहिलेजस्तो खुकुलो भएपछि चलेको छैन । बिस्तारै चलेको कामले विमानस्थलको काम समयमा सकेर हस्तान्तरण हुनेमा खत्री शङ्का व्यक्त गर्नुहुन्छ ।
 
मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम थालेको वर्षौं बित्यो । निर्माण कम्पनीले समयमा काम नथालेका कारण दुई खण्डमा भइरहेको काम बन्दाबन्दी पूर्व केही आशालाग्दो थियो । बागलुङ अक्षेते खण्डमा काम चलिरहेका बेला बन्दाबन्दी भयो । चौधजना मजदूर बन्दाबन्दीकै समयमा जिल्ला छोडेर बाहिरिए । सुस्त चलेको कामसमेत बन्दाबन्दीले रोकिदियो । 

एक मिटर कालोपत्र सडकसमेत नरहेको बरेङ गाउँपालिकाले यो वर्ष एक किलोमिटर भए पनि सडक कालोपत्र गर्ने योजनामा थियो । बरेङ बजारमा गर्ने भनिएको कालोपत्र सडकका लागि प्रदेश सरकार र सङ्घ सरकारसँग साझेदारी गरिएको थियो । दुई करोड खर्चेर बरेङ बजारमा ९०० मिटर कालोपत्र गर्ने काम निर्माण कम्पनीसँग सम्झौता गरेर शुरु हुने बेलामा भएको बन्दाबन्दीले अलपत्र पारेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ ।

गलकोट नगरपालिकाले गत आवमा बनाएका धेरै योजनाको काम सक्यो तर भुक्तानी दिन पाएन । नगरले छनोट गरेका योजनाहरुको भौतिक प्रगति देखिए पनि बन्दाबन्दीका कारण राजश्व बाँडफाँडबापत नगरलाई आउनुपर्ने रकम नआएपछि दायित्व सार्नुप¥यो । गत आवमा भएका कामको ७० लाख दायित्व सारेर चालू आर्थिक वर्ष शुरु भएपछि भुक्तानी गरिएको छ । “हाम्रो भौतिक प्रगति ९५ प्रतिशत हो तर वित्तीय प्रगति बजेट अभावले हुन सकेन्”, प्रशासकीय अधिकृत तुलबहादुर विकले भन्नुभयो, “काम चल्ने समयमा आउनुपर्ने राजश्व बाँडफाँडको रकम बन्दाबन्दीले रोकिएपछि रु तीन करोड सिलिङमा भएको रकम भुक्तानी आएन ।” 

प्रसिद्ध जैमिनीधामदेखि कुश्मीशेरा बजार ग्राभेल गर्ने काम गरिरहेको जैमिनी नगरपालिकाले तीन महिना म्याद थप गरेर आधाउधी काम गरायो । चैतमा शुरु भएको काम बन्दाबन्दीले रोकिएपछि म्याद थपेर चालू आवको पछिल्लो तीन महिनामा काम सकेको योजना अधिकृत प्रेमप्रसाद सापकोटा बताउनुहुन्छ । 

उल्लिखित प्रतिनिधि पालिकाहरुका ठूला योजना जस्तै बागलुङका दश वटै स्थानीय तहमा सञ्चालन भएका विकासका काममा कोभिड–१९ को प्रभाव परेको छ । स्थानीय तहहरुले सञ्चालन गरेका कार्यक्रमहरुमा भौतिक पूर्वाधारभन्दा सामाजिक विकास र आर्थिक विकासका कामहरु बढी प्रभावित भएको पालिकाहरुले जनाएका छन् । ७४१ वटा योजना विनियोजन गरेको बागलुङ नगरपालिकाले ५९१ योजनाको मात्रै फरफारक गर्न सक्यो । “केही बहुवर्षे र सफट्वेयरका कामहरु कोभिडका कारण रोकिए”, योजना अधिकृत युक्तप्रसाद सुवेदीले भन्नुभयो, “कठिन मेहनतका साथ काम गर्दा पनि जनशक्तिको अभावका कारण लक्ष्यमा पुग्न सकिएन ।” 

काठेखोला गाउँपालिकाले ९१ प्रतिशत योजना मात्रै सम्पन्न गर्यो । कोरोनाका कारण सामाजिक दूरी कायम गर्नुपर्ने र भीडभाड गर्न नपाइने भएकाले लक्षित वर्गका कार्यक्रम हुनै सकेनन् । “अन्तिमसम्म प्रयास गर्यो तर सकिनँ”, गाउँपालिका अध्यक्ष अमर थापा भन्नुहुन्छ, “तालीम, गोष्ठी, सेमिनारका कार्यक्रम धेरै प्रभावित भए ।” 

जैमिनी नगरपालिकाले ५५७ योजनामा काम गर्ने भनेको थियो । विनियोजित योजनाको ८५ प्रतिशत मात्रै प्रगति भयो । नगरले धेरै योजना चालू आर्थिक वर्षमा दायित्व सारेर ल्याएको छ । बरेङ गाउँ पालिकामा महत्वाकाङ्क्षी तीन योजना अलपत्र परे । १७३ योजनामध्ये बरेङ बजार कालोपत्र, बरेङदेखि नाम्दुकको दुई हजार तीन सय मिटर सडक स्तरोन्नति र स्वास्थ्य चौकी भवन निर्माणका काम अधुरै रहे । “काम हुँदै थिए, महामारीको चपेटामा परियो”, अध्यक्ष कृष्णप्रसाद शर्मा भन्नुहुन्छ, “कोरोना नियन्त्रणमा समय दिँदा आफैँले बनाएका योजनामा समय दिन सकिएन ।” 

गलकोट नगरपालिकाले पाण्डवखानी समुवा सडक स्तरोन्नति गरेको छ । हरिचौर र काँडेबाँस बजारमा ढलान भएको छ । कोत मन्दिर संरक्षणमा ५० लाख खर्चिएको छ । पूर्वाधारमा खासै क्षति नभएको यो नगरमा कोरोनाका कारण बालमैत्री नगर बनाउने, आत्मनिर्भर बनाउन चलाउने भनिएका तालिमलगायत कार्यक्रम भने प्रभावित भए ।

निसीखोला गाउँपालिकाले अघिल्लो आवमा शुरु गर्ने भनेको प्रशासनिक बवन बनाउने काम यो वर्षमात्रै शुरु गरेको छ । प्राथमिक विद्यालयहरुलाई पूर्वाधारमा बलियो बनाउने भनेर निर्माण थालिएका दुईवटा विद्यालय भवन निर्माणमा असर प¥यो । सबैभन्दा धेरै असर भएका काममा समेत भुक्तानी दिन नपाउँदा भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेल बताउनुहुन्छ ।

ताराखोला गाउँपालिकामा शिक्षातर्फका योजना धेरै प्रभावित भए । “विद्यालय नै क्वारेन्टिन बनाउँदा काम हुने समयमा जिम्मेवारी दिन सकेनौँ”, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो, “आर्थिक विकासको सूचक कृषि र पशुपालनका कार्यक्रम प्रभावित हुँदा धेरै क्षति भएको छ ।”

ढोरपाटन नगरपालिकाले बनाउने भनेका कतिपय पूर्वाधारहरु ठेक्कामै जान पाएनन् । “उपभोक्ता समितिमार्फत हुने काम रोकिएनन् तर ठेक्काका काम गर्न सकिएन्”, लेखा अधिकृत शिव शर्माले भने, ‘‘हामीलाई यस पटक राजश्व बाँडफाँड र भएको रकमसमेत कोभिडका लागि खर्च गर्दा समस्या भयो ।”

पूर्वाधार विकासका ९६ योजना बनाएको तमान खोला गाउँपालिकाले ९३ योजनाको काम सक्यो । तर महत्वपूर्ण मानिएका तीन योजना शुरु नै हुन पाएनन् । “हाम्रोमा पूर्वाधार, सामाजिक र आर्थिक विकासका क्रियाकलाप समान हिसाबले सञ्चालन गर्नुपर्ने थियो”, प्रशासकीय अधिकृत प्रभात लामिछाने भन्छन्, “पहिले स्वास्थ्य सुरक्षा भन्नेमा लागियो, सावधानीबीच पनि धेरै काम भएकै मान्नुपर्छ ।”

सङ्घ र प्रदेशले सञ्चालन गरेका योजनाको तुलनामा स्थानीय तह आफैँले बनाएका योजनाका काम धेरै भएका छन् । “अनुगमन र निरीक्षण महत्वपूर्ण पाटो रहेछ”, निसीका अध्यक्ष पौडेल भन्नुहुन्छ, “हामीले आफ्नै काममा ध्यान दिनुपर्यो, माथिका कार्यक्रम धेरै रोकिए ।” बन्दाबन्दीका कारण स्थानीय तहले सङ्कलन गर्न पाउने राजश्वमा समेत कमी आएकाले लक्ष्यमा पुग्न नसकिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल बताउनुहुन्छ ।