एजेन्सी । युइएफए च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोना पोर्चुगिज क्लब बेन्फिाकासँग पराजित भएको छ ।
बार्सिलोनाले घरेलु टोली बेन्फिकासँग ३–० गोलको को लज्जास्पद हार ब्यहोरेको हो ।
बेन्फिकाको जितमा डार्विन नुनेजले दुई गोल गरे भने राफा सिल्भाले एक गोल गरे । बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।
घरेलु टोली बेन्फिकाले खेलको तेस्रो मिनेटमा नै डार्विन नुनेजको गोलबाट अग्रता लिएको थियो । यस्तै ६९औं मिनेटमा राफा सिल्भाले जोओ मारियोको पासमा गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे ।
७९औं मिनेटमा बेन्फिकाले पेनाल्टी पायो । डार्विन नुनेजले पेनाल्टीको सदुपयोग गर्दै गोल गरे ।
योसँगै बेन्फिकाले पहिलो जित निकालेको छ । बेन्फिकाले पहिलो खेल डिनामो किएभसँग गोलरहित बराबरी खेलेको थियो ।
यता बार्सिलोनाको भने यो दोस्रो हार हो । यसअघि बार्सिलोना जर्मन महारथी बायर्न म्युनिखसँग ३–० ले पराजित भएको थियो ।
यो जितसँगै बेन्फिका समूह ‘ई’ मा दुई खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । यता बार्सिलोना अंकबिहिन रहँदै तालिकाको पुछारमा छ ।