मस्को । विश्वका शक्तिशाली नेतामध्येका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक समय पैसा कमाउन ट्याक्सी चालक समेत बनेका थिए । आफ्नो व्यक्तिगत जीवनलाई संसारबाट लुकाएर राख्ने पुटिनले एक वृत्तचित्रमा आफ्नो जीवनसँग सम्बन्धित धेरै गोप्य खुलासा गरेका छन् । सोभियत सङ्घको विघटनपछि आफ्नो समस्या बढेको र थप पैसा कमाउनका लागि ट्याक्सी चालकको काम गर्नुपरेको उनले बताएका छन् ।
वास्तवमा सन् १९९० को दशकमा सोभियत सङ्घको पतनपछि मुलुकको अर्थतन्त्र विनाशको किनारमा पुगेको थियो । यसले धेरै रुसीहरुलाई बाँच्नका लागि पैसा कमाउने नयाँ तरिकाहरु खोज्न बाध्य तुल्याएको थियो । सन् १९९१ मा सोभियत सङ्घको पतनलाई पुटिनले ऐतिहासिक रुसको पतन भएको बताए । पुटिनले पहिलादेखि नै सोभियत सङ्घको पतनलाई राष्ट्रिय विपत्तिका रुपमा मान्दै आएका छन् ।
पुटिनको भनाइले युक्रेनका सम्बन्धमा उनको नियत के हो भन्ने अनुमान फेरि बढेको छ । रुसले युक्रेनी सीमामा ९० हजार सेना तैनाथ गरेको छ । यसले रुसले आक्रमण गर्ने तयारी गरिरहेको त छैन भन्ने डर उत्पन्न गरेको छ । पुटिन र उनका सहयोगीहरूले यसलाई अस्वीकार गर्दै युक्रेनमाथि उत्तेजित गराएको आरोप लगाएका छन्। रुसले नेटोको विस्तार पूर्वमा नहोस् भनेर यस्तो कदम चालेको बताएको छ । पुटिनले वृत्तचित्रमा भनेका छन्, ‘सोभियत सङ्घको नतिजा के हो ? यो सोभियत सङ्घ भनेर चिनिने ऐतिहासिक रुसको विघटन हो।’
उनले भने, ‘कहिलेकाहीँ अतिरिक्त पैसा पनि कमाउनु पर्थ्यो । मेरो मतलब निजी चालकका रूपमा अतिरिक्त पैसा कमाउनु हो।’ पुटिनले पहिलो पटक आफूले ट्याक्सी चालकका रुपमा काम गरेको खुलासा गरेका छन् । त्यतिबेला रुसमा ट्याक्सी निकै कम थिए र पुटिनले त्यसको फाइदा उठाए।
रुसी राष्ट्रपतिले यसअघि गुप्तचर एजेन्सी केजीबीको एजेन्टका रुपमा काम गरिसकेका छन् । सबैलाई यसको बारेमा थाहा छ तर अन्य जानकारी अझै गोप्य छ।