काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विद्वान गुरुङले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले मुलुकलाई नयाँ दिशा दिन तथा नेपाली कांग्रेसलाई थप सशक्त र गतिशील बनाउन आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई देशव्यापी रूपमा थप सबल बनाउन सक्षम र ऊर्जावान नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो । १५औँ महाधिवेशनलाई पार्टीको ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै गुरुङले पार्टीका सबै तह र तप्कामा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।
गुरुङले नयाँ नेपाल, नयाँ कांग्रेस र नयाँ उत्साहका साथ १५औँ महाधिवेशन भइरहेको बताउँदै तरुण पुस्तालाई देशव्यापी रूपमा संगठित गर्दै पार्टीलाई अझ सशक्त बनाउन सामूहिक छलफल र साझा निर्णय आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशलाई नयाँ ढङ्गले अघि बढाउन र तरुणहरूलाई देशव्यापी रूपमा संगठित गर्दै नेपाली कांग्रेसलाई अझ सशक्त बनाउन आजको हाम्रो छलफल महत्वपूर्ण हुनेछ । आगामी महाधिवेशनमा हामी व्यापक छलफल गरेर साझा निर्णयमा पुग्नेछौँ ।”
पार्टी सभापति गगन थापाको नेतृत्वमा सबै एकताबद्ध भएर अघि बढ्ने बताउँदै गुरुङले आफूले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो । उहाँले आफ्नो उम्मेदवारीमा साथ, सहयोग र समर्थनका लागि आग्रहसमेत गर्नुभयो ।
तरुण दलका साथीहरूसँग थप छलफल गरी सक्षम, योग्य र पार्टीलाई नयाँ दिशा दिन सक्ने उम्मेदवारलाई अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले यसपटक तरुण दलमा मात्र सीमित नभई सक्षम र ऊर्जावान नेतृत्वलाई प्राथमिकता दिएर निर्णय गर्नुपर्ने बताउनुभयो ।
गुरुङले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन तथा योग्य व्यक्तिहरूलाई पार्टीको मूल प्रवाहमा ल्याउन तरुण दलले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।








