काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी फिर्ता, उम्मेदवारी सच्याउन तथा प्रकाशित उम्मेदवारको नामावलीमा नाम छुटेको भए दाबी गर्न आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारको मनोनयन फिर्ता लिन, उम्मेदवारीमा आवश्यक सच्याइ गर्न तथा प्रकाशित नामावलीमा नाम छुटेको भए सोसम्बन्धी दाबी गर्न चाहने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई तोकिएको समयभित्र सम्पर्क गर्न आग्रह गरेको हो ।

समितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा असोज २१ गते बुधबार दिउँसो २ बजेभित्र आवश्यक प्रक्रिया पूरा गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यहरूलाई सूचित गरिएको छ ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन काठमाडौँमा भइरहेको छ । महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ ।







