काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै रु १०० दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएम मेसिनमार्फत रु १०० दरका नोट वितरण गर्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोटका विषयमा अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वका लागि राष्ट्र बैंक तथा वाणिज्य बैंकबाट सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पैसा सटही गर्ने कार्य नियमित प्रक्रियाअन्तर्गत हुने भएकाले त्यसका लागि छुट्टै सूचना जारी गर्न आवश्यक नपर्ने र यसपटकको परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्र बैंकले सोहीअनुसार व्यवस्था गरेको हो ।
प्रवक्ता पौडेलले असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था भइरहेको जानकारी दिनुभयो ।
राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्वलाई लक्षित गर्दै ठूलो परिमाणमा नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गत भदौ ३१ गतेसम्म मुलुकमा रु सात खर्ब ९४ अर्ब करेन्सी इन सर्कुलेसनमा रहेको छ । दसैँका क्रममा उक्त रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान राष्ट्र बैंकले गरेको छ।