काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ।
बिहान साढे १० बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्र केही ढिला गरी साढे ११ बजेपछि सञ्चालन गर्ने तयारी गरिएको थियो। तर अचानक हावाहुरीसहित ठूलो वर्षा भएपछि महाधिवेशन प्रतिनिधिहरू खुलामञ्चमा आउन नसक्दा बन्द सत्र प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
कांग्रेसले महाधिवेशनको बन्द सत्र खुलामञ्चमा सञ्चालन गरिरहेको छ। भृकुटीमण्डपमा खाना तथा अन्य व्यवस्थापन गरिएको छ भने राष्ट्रिय सभागृहमा निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम गरिरहेको छ। महाधिवेशनमा भोलि बिहान मतदान गर्ने कार्यतालिका छ।
आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने तयारी गरिएको छ। बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ।
यी प्रस्ताव तथा प्रतिवेदनमाथि सोमबारदेखि नै महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्। छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायतका विषयमा सुझाव दिएका छन्।
कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार छलफलमा सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका छन्।
बन्द सत्र सबैका लागि खुला
कांग्रेस प्रवक्ता चालिसेका अनुसार खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको छ। उहाँका अनुसार यसअघि विशेष महाधिवेशनमा समेत बन्द सत्र सबैका लागि खुला गरिएको थियो।
बन्द सत्रको प्रत्यक्ष प्रसारण नेपाली कांग्रेसको फेसबुक पेजबाट गरिनेछ। अन्य सञ्चारमाध्यमले समेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउने व्यवस्था गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो।
वर्षाका कारण निर्धारित समयभन्दा केही ढिलाइ भए पनि बाँकी धारणा तथा सुझाव समेट्दै प्रस्ताव र प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाउने तयारी कांग्रेसको छ।
सभापति थापाले सम्बोधन गर्ने
आजको बन्द सत्रको कार्यक्रमपछि सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ। सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुंग्याउने तयारी गरिएको छ।
राजनीतिक, संगठनात्मक तथा आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ। १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ।
सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। मतदान भोलि बिहान हुने भएपछि महाधिवेशनको मुख्य ध्यान अब निर्वाचन प्रक्रियातर्फ केन्द्रित हुने भएको छ।








