काठमाडौं । नेपाली काँग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्था जोगाउन युवाहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले मुलुकको वर्तमान राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको भन्दै प्रजातन्त्र, संविधान र व्यवस्थाको संरक्षणका लागि आवश्यक परे युवाहरू आन्दोलनमा उत्रिन र जेल जानसमेत तयार हुनुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकारले संविधान र राजनीतिक व्यवस्था नै उल्टाउन सक्ने आरोप लगाउँदै त्यसप्रति सजग रहन तरुण दलका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
‘अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र जोगाउन, संविधान जोगाउन भोलि हुन सक्छ तपाईं–हामीले आन्दोलन गर्नुपर्ने हुन्छ, जेल जानुपर्ने हुन्छ । त्यसका लागि पनि तयार हुनुस्, यो सरकार सन्काहा सरकार हो । जतिबेला जे पनि संविधान मास्न सक्छ, व्यवस्था मास्न सक्छ । त्यसका लागि सजग भएर तरुण दल बस्नुपर्छ ।’
यादवले पार्टी, संविधान र वर्तमान व्यवस्थाको संरक्षणका लागि नेपाली काँग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले तरुण दलको संगठनभित्र पनि एकता कायम राख्न आग्रह गर्दै पार्टी र संविधान संरक्षणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
उहाँले नेपाली काँग्रेसको महाधिवेशनमा आफू मधेसी क्लस्टरतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवार रहेको जानकारी दिँदै आफ्नो उम्मेदवारीलाई सहयोग गर्न तरुण दलका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल








