काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले नयाँ पुस्ताको जोश–जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरेर काँग्रेसलाई सशक्त र गतिशील बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले पार्टीलाई आगामी चुनौती सामना गर्न सक्ने गरी सुदृढ बनाउन नयाँ र पुरानो पुस्ताबीचको समन्वय आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले अहिलेको प्रमुख आवश्यकता पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नु रहेको उल्लेख गर्दै काँग्रेसभित्र सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
काँग्रेसको अधिवेशनमा उपसभापति पदका उम्मेदवारसमेत रहनुभएका पाण्डेले भन्नुभयो, “अहिले हामीले पार्टीलाई नयाँ पुस्ताको जोश–जाँगर र पुराना साथीहरूको अनुभवलाई संयोजन गरेर नेपाली कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी दिनको चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने अवस्था छ ।”
उहाँले आफूले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा काम गर्दै आएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीलाई सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।
–न्युज एजेन्सी नेपाल








