काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिटी एक्सप्रेस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवनसमेत प्रभावित बनेको अवस्थामा सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरिएको सिटी एक्सप्रेसले जनाएको छ।
कम्पनीका अनुसार विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरिएको छ।
सिटी एक्सप्रेसले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ। कम्पनीले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको जनाएको छ।
विपद्बाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउन निजी क्षेत्रबाट पछिल्लो समय विभिन्न संघसंस्था तथा कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्दै आएका छन्।









