९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य

डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य
अ अ+ अ-

काठमाडौँ । लामो समयदेखि किसानको बक्यौता भुक्तानी र दुग्धजन्य पदार्थको ठूलो मौज्दातका कारण वित्तीय सङ्कटमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

संस्थानले किसानलाई दूधको रकम नियमित रूपमा भुक्तानी गर्ने व्यवस्था सुनिश्चित गर्दै दुग्ध सङ्कलन केन्द्र तथा बिक्री सञ्जाल विस्तार गरी उक्त लक्ष्य हासिल गर्ने योजना अघि सारेको हो । हाल किसानबाट दैनिक करिब ६५ हजार लिटर दूध सङ्कलन गर्दै आएको डिडिसीले त्यसमा थप ८५ हजार लिटर वृद्धि गर्ने लक्ष्य राखेको छ ।

डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले दूध उत्पादनको सम्भावना भएका क्षेत्रमा सङ्कलन केन्द्र विस्तार गर्दै किसानलाई विश्वासमा लिएर लक्ष्य पूरा गर्ने बताउनुभयो । उहाँका अनुसार यसअघि किसानलाई समयमा भुक्तानी दिन नसक्दा संस्थाप्रति देखिएको अविश्वास हटाउन बक्यौता फरफारकसँगै नियमित भुक्तानीको व्यवस्था गर्न लागिएको छ ।

“यसअघिको बक्यौता छिट्टै फरफारक गरी नियमित रूपमा भुक्तानीको व्यवस्था सुनिश्चित गरेर किसानको विश्वास जित्नेछौँ,” उहाँले भन्नुभयो, “मात्रात्मक एवं गुणात्मक दृष्टिले दूधको सङ्कलन, उत्पादन तथा बिक्रीवितरणमा जोड दिई लक्ष्य पूरा गर्नेछौँ ।”

महाप्रबन्धक पाण्डेका अनुसार आफूले गत वैशाख १८ गते जिम्मेवारी सम्हाल्दा डिडिसीले किसानलाई करिब रु ७२ करोड भुक्तानी गर्न बाँकी थियो । अहिले उक्त बक्यौता घटेर करिब रु २० करोडमा झरेको छ । पछिल्लो तीन महिना १५ दिनको अवधिमा संस्थानले करिब रु ७० करोड किसानलाई भुक्तानी गरिसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठ महिनासम्मको भुक्तानी बाँकी रहेको अवस्थाबाट अहिले दुई महिनाको मात्र भुक्तानी बाँकी छ । अब मासिक र त्यसपछि १५ दिनमा किसानलाई भुक्तानी गर्ने गरी व्यवस्था मिलाइँदैछ ।

डिडिसीले यसबीचमा दुग्धजन्य पदार्थको मौज्दातसमेत उल्लेख्य रूपमा घटाएको छ । पाण्डेका अनुसार जिम्मेवारी सम्हाल्दा करिब ६०० टन रहेको धुलो दूधको मौज्दात अहिले घटेर करिब १२० टनमा झरेको छ । त्यस्तै, करिब ५०० टन रहेको बटरको मौज्दात घटेर १२५ टनमा आएको छ । पनिरको मौज्दातसमेत घटाइएको उहाँले बताउनुभयो ।

“चार महिनाअघि किसानलाई करिब रु ७२ करोड भुक्तानी दिन बाँकी थियो र डिडीसीका कुनै पनि उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने अवस्था थिएन,” उहाँले भन्नुभयो, “तर अहिले बक्यौता रु २० करोडमा झरेको छ र उत्पादित वस्तु विदेशमा बिक्रीवितरण भइरहेको छ ।”

संस्थानले बजार विस्तारलाई समेत प्राथमिकता दिएको छ । काठमाडौँमा डिडिसीका मात्रै १५ वटा ‘डेडिकेटेड’ बिक्री काउन्टर सञ्चालनमा ल्याइएको पाण्डेले बताउनुभयो । यसअघि दैनिक रु ५० देखि ६० लाख हाराहारी कारोबार हुँदै आएकामा अहिले करिब रु एक करोडको कारोबार हुन थालेको उहाँको भनाइ छ ।

काठमाडौँमा दैनिक दूध बिक्रीसमेत करिब ६० हजार लिटरबाट बढेर ७२ हजार लिटर पुगेको छ भने दैनिक दूध सङ्कलन ५० हजार लिटरबाट बढेर ६५ हजार लिटर पुगेको छ ।

डिडिसीले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उत्पादन विस्तार गर्न थालेको जनाएको छ । खाडी मुलुकमा घ्यू निर्यात सुरु भइसकेको र हालै ५०० किलो घ्यू दुबई पठाइएको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक ५० हजार किलो घ्यू निर्यात गर्ने सम्झौतासमेत भएको छ ।

त्यस्तै, चिज र पेडाको माग विदेशबाट आउन थालेको तथा दक्षिण कोरिया, मलेसिया र जापानमा डिडिसीका उत्पादन निर्यातका लागि छलफल भइरहेको उहाँले बताउनुभयो ।

हाल करिब २० प्रकारका दुग्धजन्य उत्पादन गर्दै आएको डिडिसीले बजारको मागअनुसार ‘स्लाइस चिज’ लगायत नयाँ उत्पादन थप गर्ने तयारी गरेको छ । मोफसलमा उत्पादन तथा बजार विस्तार गर्ने रणनीतिअनुसार पोखरामा उत्पादन गर्ने गरी सम्झौताको प्रक्रिया अघि बढाइएको पाण्डेले जानकारी दिनुभयो ।

डिडिसीको मुख्य चुनौतीका रूपमा कर्मचारी सङ्ख्या बढी हुनु तथा दूध सङ्कलन र बजारबीच उचित तालमेल हुन नसक्नुलाई लिइएको छ । संस्थानमा हाल करिब ८०० कर्मचारी कार्यरत छन् ।

यस्तै, डिडिसीमा हाल करिब रु एक अर्ब २६ करोड ऋण रहेको छ । महाप्रबन्धक पाण्डेले आगामी एक वर्ष छ महिनाभित्र ऋण चुक्ता गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो अवधिमा मात्रै संस्थानले करिब रु तीन करोड ऋण तिरिसकेको छ ।

खर्च नियन्त्रण, वित्तीय अनुशासनमा सुधार र बजार विस्तारमार्फत डिडिसीलाई क्रमशः आत्मनिर्भर बनाउने योजना रहेको उहाँले बताउनुभयो।