कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मौसमजन्य विपद्को पूर्वतयारीबारे कर्णाली प्रदेश अस्पताल सुर्खेतको अनुगमन गर्नुभएको छ ।
आजदेखि असोज ११ गतेसम्म हुने भारी वर्षा र त्यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि गरिएको पूर्वतयारीका सन्दर्भमा उहाँले प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षको अनुगमन गर्नुभएको हो ।
सामाजिक विकासमन्त्री जीतबहादुर मल्लसहित स्थलगत प्रदेश अस्पताल कालागाउँ पुग्नुभएका मुख्यमन्त्री शाहीले प्राकृतिक विपद्बाट नागरिक घाइते हुने वा अन्य कुनै घटना भएमा शीघ्र उपचार कसरी दिन सकिन्छ भन्नेबारे अस्पतालका निर्देशक डा गणेश थापासँग जिज्ञासा राख्नुभएको थियो ।
सो क्रममा अस्पतालको आकस्मिक कक्षको अनुगमनका साथै प्राकृतिक विपद्का बेला उपचारमा अपनाइने चरण र तयारीका बारेमा मुख्यमन्त्री शाहीले छलफल गर्नुभएको छ । अस्पताल निर्देशक डा थापाले आफूहरूले जाजरकोट भूकम्पदेखि अन्य दुर्घटनाका समयमा काम गरेको अनुभव सुनाउँदै मौसमजन्य विपद्बाट हुनसक्ने सम्भावित घटना र पूर्वतयारीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्पतालको सम्पूर्ण टोली चौबिसै घण्टा तयारी अवस्थामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफूहरूसँग आकस्मिक अवस्थामा परिचालन हुने चिकित्सक तथा अन्य कर्मचारी, औषधि, मेडिकल सामग्री र बिरामी राख्ने स्थानसमेत पर्याप्त रहेको र यसमा अस्पताल परिवार पूर्वतयारी अवस्थामा बसेको निर्देशक डा थापाले बताउनुभयो । सो क्रममा मुख्यमन्त्री शाहीले पनि पूर्वतयारीस्वरुप आवश्यक कदमचाल्न र सम्पूर्ण प्रकारको तयारी गर्न निर्देशन दिनुभएको छ । रासस








