भक्तपुर। भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ ।
निरन्तर परेको वर्षाको कारण मनोहरा खोलामा आएको बाढीबाट सडकको जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले जानकारी दिनुभयो ।
बाढीको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालगायतको टोलीले हुनमन्ते खोला, मनोहरा खोलामा बहाव बढेपछि अनुगमन गरेको थियो ।
अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बगेपछि आवागमनमा समस्या आएको छ ।
त्यसैगरी बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेकाहरू हटाएर सुरक्षित स्थानमा सारेको छ । टहरामा बस्नेहरूलाई कौशल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा राखिएको जिल्ला प्रहरी परिसरका प्रमुख खड्काले जानकारी दिनुभयो । बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणी स्थल हो ।
च्यामासिंह नाला सडक खुल्यो
त्यसैगरी, अविरल वर्षाका कारण भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुँदै काभ्रेको नाला–बनेपा जोड्ने सडकको यातायात आवागमन सञ्चालन भएको छ । वर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध भएपछि बिहानदेखि च्यामासिंह–ताथली–नाला सडकमा यातायातको साधन आवागमन रोकिएको थियो ।
आज प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी प्रमुख खड्कालगायतको टोलीले उक्त सडकको अनुगमन गरी डोजरले पहिरो पन्छाउन लगाएर सडकमा यातायात सञ्चालन गरेको हो । रासस








