काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच स्मार्टपे आईबीएफटी (अन्तरबैंक रकम स्थानान्तरण) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता भएको छ।
सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्टपे सञ्जालमा आबद्ध भएको छ। बैंकले अब स्मार्टपे आईबीएफटीमार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ। यसबाट बैंकका ग्राहकले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम स्थानान्तरण गर्न थप सुविधा पाउने अपेक्षा गरिएको छ।
एससीटीले विकास तथा सञ्चालन गर्दै आएको स्मार्टपे आईबीएफटी अन्तरबैंक रकम स्थानान्तरणसम्बन्धी सेवा हो। यसले सहभागी बैंक तथा वित्तीय संस्था, वालेट र विप्रेषण कम्पनीबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहजीकरण गर्दै आएको छ।
स्मार्टपे सञ्जालले विभिन्न वित्तीय सेवा तथा संस्थाबीच अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन तथा वित्तीय पहुँच विस्तारमा सहयोग पुर्याउँदै आएको एससीटीले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी नेपालमा पहिलो स्वदेशी कार्ड ‘एससीटी कार्ड’ सुरुवात गर्ने संस्था हो। संस्थाले हाल विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट कम्पनी, विप्रेषण कम्पनी र सहकारी संस्थालगायतका संस्थालाई समेटेर निर्माण गरिएको सञ्जालमार्फत विभिन्न डिजिटल भुक्तानी सेवा सञ्चालन गर्दै आएको छ।
एससीटीले एससीटी युनियनपे, भिसा, मास्टरकार्ड, नेपालपे, डिस्कभर तथा रुपे कार्डको जारी तथा स्वीकार गर्ने सञ्जाल, एटीएम, पीओएस, इन्टरनेट तथा मोबाइल बैंकिङ, स्मार्टक्यूआर र रकम स्थानान्तरणलगायतका सेवा प्रदान गर्दै आएको छ।








