काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा रसुवागढी–केरुङ नाका पुनः सञ्चालनका लागि चीन सरकारसँग सहयोग माग्नुभएको छ ।
शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भएको भेटवार्तामा मन्त्री लम्सालले बाढीका कारण बन्द रहेको रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको हो ।
भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको उल्लेख गर्दै मन्त्री लम्सालले पुरानै स्थानबाट अस्थायी सडक तथा यातायात व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीनको सहयोग आवश्यक रहेको बताउनुभयो ।
मन्त्री लम्सालले करिब ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै रसुवाको क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, रसुवागढी नाका सञ्चालन तथा कोरला र तातोपानी नाकाको प्रभावकारी सञ्चालनमा समेत चीनको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तथा आवश्यक स्थानमा सडकको ट्र्याक खोल्ने काम अघि बढाइएको जानकारी दिँदै त्यसमा चीन सरकारको सहयोग र समन्वयका लागि आग्रह गर्नुभयो ।
भेटमा चिनियाँ राजदूत वाङ माओमिङले चीन नेपाललाई असल मित्र तथा छिमेकीका रूपमा हरसम्भव सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको बताउँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाए आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।