काठमाडाैँ । टोकियोमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीको फाइनल यात्रा सेमिफाइनलमै रोकिएको छ ।
शुक्रबार टोकाया सिटिजेन जिम्नाजियममा भएको सेमिफाइनलमा नेपाल छिमेकी भारतसँग ४८–२४ अंकले पराजित भएको हो । यससँगै नेपालले पहिलोपटक एसियाली खेलकुदको महिला कबड्डीमा फाइनल पुग्ने अवसर गुमाएको छ ।
यसअघि १९औँ एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोली सेमिफाइनलमै रोकिएको थियो । लामो तयारीसहित प्रतियोगितामा सहभागी भएको नेपालले यसपटक फाइनल पुग्ने लक्ष्य राखे पनि बलियो भारतविरुद्ध डिफेन्स र अफेन्समा अपेक्षित प्रदर्शन गर्न सकेन ।
खेलको सुरुआती पाँच मिनेटमा नेपालले भारतलाई चुनौती दिए पनि त्यसपछि भारतीय टोली हाबी भएको थियो । पहिलो हाफमा भारतले ३१–१७ को अग्रता बनाएको थियो । नेपाल पहिलो हाफमै दुईपटक अलआउट भयो । भारतले चार तथा नेपालले तीन बोनस अंक जोड्दा नेपालले एकपटक सुपर ट्याकल गरेको थियो ।
दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि नेपालले थप सात अंक मात्र जोड्न सक्यो । भारतले भने १७ अंक थप्दै ४८–२४ को सहज जित निकाल्यो र फाइनलमा स्थान सुरक्षित गर्यो ।
समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा दुई खेल जित्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपालले थाइल्याण्डलाई ४६–४३ तथा श्रीलंकालाई ३४–२५ ले पराजित गरेको थियो ।
समूह उपविजेता बन्दै सेमिफाइनल पुगेपछि नै नेपालले प्रतियोगितामा काँस्य पदक पक्का गरिसकेको थियो ।