हेटौंडा । अविरल तथा भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थापनका लागि नयाँ समयतालिका लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ८ गतेदेखि परेको भारी वर्षाका कारण सडकमा सवारीको चाप बढेकाले हेटौंडा–काठमाडौं र काठमाडौं–हेटौंडा चल्ने सवारीका लागि निश्चित समय तोकेको हो।
कार्यालयका अनुसार असोज ९ गते हेटौंडाबाट काठमाडौं जाने सवारी चौकीटोलबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। असोज १० गते बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म सवारी सञ्चालन गर्न दिइनेछ।
त्यस्तै, काठमाडौंलाई हेटौंडातर्फ आउने सवारीका लागि असोज ९ गते साँझ ७ बजेदेखि राति ११ बजेसम्म, असोज १० गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते बिहान ७ बजेदेखि ११ बजेसम्मको समय तोकिएको छ।
जिल्ला प्रशासन कार्यालयले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका बाहेक १० चक्केभन्दा ठूला र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई त्रिभुवन राजपथमा पूर्ण रूपमा निषेध गरेको छ।
यात्रुबाहक सवारीका हकमा भने ११ मिटर लम्बाइसम्मका सवारी साधनले मात्र त्रिभुवन राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। प्रशासनले चालक, व्यवसायी तथा यात्रुलाई तोकिएको समयतालिकाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ।








