९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा
अ अ+ अ-

काठमाडाैँ । नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा । ठीक यस्तै भक्तपुरमा पनि यस्तै एउटा जात्रा छ, मुपात्र जात्रा । यहाँं कहीँ नभएको मुुपात्र जात्रा हुने गर्छ । आठ रात नौ दिन चल्ने भक्तपुरको इन्द्रजात्राको क्रममा यो जात्रा हुने गर्दछ । भक्तपुरको इन्द्र जात्राको सबैभन्दा आर्कषण परम्परामध्ये मुुपात्र जात्रा एक हो ।

मुुपात्रलाई शक्तिशाली र भयानक राक्षसको स्वरुपको रुपमा प्रस्तुुत गरिन्छ । मुपात्रसँगै उनका दुुई सहयोगी हुन्छन् उनीहरुलार्ई स्थानीय भाषामा धिचा भनिन्छ । दुुई सहयोगीले साथ दिन्छन् उनलाई । जात्राको क्रममा भक्तपुर नगरको गल्लीहरुमा उनीहरु आकर्षक राक्षक पोसाकमा अनुहारमा विभिन्न रङ पोतेर र तरबार बोकेर हिँड्छन् ।

कहाँबाट निकालिन्छ ?

भक्तपुरमा मुपात्रलाई तीन छुटाछुटै ठाउँहरुबाट निकालिने प्रचलन छ । पहिलो दिन भक्तपुरको दत्तात्रयको सकुलान गणेश मन्दिरबाट, दोस्रो दिन भक्तपुरको दरवार क्षेत्रबाट र तेस्रोअर्थात् अन्तिम दिन भक्तपुरको टौमढीस्थित भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्ने गरिन्छ । यो जात्रा साँंझको समयमा निकाल्ने परम्परा रहेको छ । यो जात्रा इन्द्रजात्राको छैटौँ दिनदेखि तीन दिन लगातार निकाल्ने गरिन्छ ।

मुुपात्रको मुुख्य काम इन्द्रजात्राको क्रममा भक्तपुरको टोलटोलमा ठहराइएको यमद्यो अर्थात इन्द्रको छोराको प्रतीकको रुपमा ठड्याइएको लिङ्गोलाई सजाय दिने रहेको छ । जात्रा अनुसार चोर भनेर समातेर टोलटोलमा राखेको यमद्योहरुलाई लगातार तीन दिन तरवारले तीन पटक हानेर जाने प्रचलन रहेको छ । यसरी नै यो जात्राको क्रममा भक्तपुरका टोलटालमा ठहराइएका सबै यमद्योलाई मुपात्रले तीन चोटी परिक्रममा गरेपछि तरवारले तीनै पटक नै प्रहार गर्ने चलन छ ।

याँमताको पछिपछि मुपात्र

भक्तपुरका जात्रापे्रमी स्थानीय राजभाइ माकले मुुपात्रसँगै याँमता पनि जोडिने गरेको बताउनुुभयो । उहाँका अनुसार जुन दिन याँमता निकालिन्छ, त्यही दिन मुपात्रा पनि निस्किने गर्दछ । याँमता ननिकालेसम्म मुपात्रा निस्कँदैनन् ।

स्थानीय भाषाको याँमताको अर्थ (आकाश दीप) हो, जुन दुुईवटा हुने गर्दछ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमताअर्थात् आकाश दीप हो । त्यसपछि मुपात्र जात्रा निकालिने गरिन्छ । मुपात्रलाई यमद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।

भक्तपुरको याँमता र मुपात्र इन्द्रजात्राको छैटौँ दिन अर्थात आश्विन कृष्ण द्वितीयाका दिन निकालिन्छ । पहिलोपटक भक्तपुर नगरपालिका–९ सकुलान टोलका मानन्धर समुदायले निकाल्छन् । नजिकैको दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडिबाट एक जोडा यामता (आकाश दीप) निकालिने गरिन्छ र त्यही यामताको पछिपछि मुपात्रा लैजाने गरिन्छ ।

जात्राको सातौँअर्थात् मुपात्र जात्राको दोस्रो दिन आश्विन कृष्ण तृतीयाको बेलुका भक्तपुर नगरपालिका–७ गोल्मढीको मानन्धर समुदायको याँमता निकाल्ने चलन रहेको छ । गोल्मढी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । यस दिन गोल्मढीको मानन्धर समुदाय छुमा गणेश कहाँ गएर सुकुना (सुकुन्डा) बालेर आइसकेपछि जात्राको आठौँअर्थात् मुुपात्र जात्राको तेस्रो दिन आश्विन कृष्ण चौथीमा भक्तपुर नगरपालिका–२ तेखापुुखुुका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुन्दा बालेर ल्याउँने र त्यही सुकुन्दामा भक्तपुर नगरपालिका–४ स्थित बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता (दुुईवटा) बालेर नगर परिक्रममा गराउने गरिन्छ । इन्द्राजात्रामा जम्मा पाँच वटा याँमता जात्रा हुने गर्छ ।

को बन्छ मुुपात्र ?

भक्तपुरको इन्द्रजात्रामा निकालिने मुुपात्र नेवार समुुदायको स्थानीय नभई उपत्यका बाहिरका व्यक्तिलाई बनाइने प्रचलन रहेको गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्द कर्माचायले जानकारी दिनुभयो । जात्रामा मुपात्र बन्ने व्यक्तिको जात जाने र खाना, पानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । मुपात्र बन्ने व्यक्तिलाई अछूतको व्यवहार गरिने हुँदा मुपात्र बन्ने व्यक्ति हतपत भेटाउन सकिंदैन । यही कारण उहिलेदेखि नै उही मानिसलाई नै ज्याला दिएर मुपात्रा बनाउने गर्दै आएको कार्यालय प्रमुख कर्माचार्य बताउनुहुन्छ ।

टोलटोलका यमद्यो स्थानीय टोलवासीले ठहराइन्छ तर तीन दिन लगातार निस्किने अर्थात मुुपात्र जात्रा (मुुपात्र) अर्थात् दैत्य गुुठी संस्थानबाट व्यवस्थापन गरिने गर्दछ । जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुई सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्ग लगाई शृङ्गारपटारका साथ तरवार समात्न लगाई नगर परिक्रमा गराउने प्रचलन रहेको प्रमुख कर्माचार्यले बताउनुुभयो ।

जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मा¥यो भने पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने जनविश्वास रहेको छ । पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा निकाल्ने परम्परा चलिआएको कर्माचार्यले बताउनुुभयो ।

के हो पुुलुकिसी जात्रा ?

पुलुकिसी जात्रा भक्तपुरको इन्द्रजात्राको मुख्य आकर्षण हो । यो जात्रा इन्द्रजात्राको अन्तिम साँंझ हुने गर्दछ । यो दिन भक्तपुर नगरपालिका–५ लाकुलाछें टोलबाट पुुलुकिसी निकाल्ने गरिन्छ । लाकोलाछेँ टोलका समुदायले बाँसको मान्द्रोमाथि निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी पुलुकिसी तयार गरिन्छ । यसलाई बोकेर मानिसले परिक्रमा गर्न सुरु गरेको हुन्छ ।

लाकोलाछेँबाट यसलाई टौमढीमा लगिन्छ । टौमढीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु हुन्छ । जात्रामा पुलुकिसीलाई चार जनाले बोकेर ल्याउँछन् भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाउने परम्परा छ ।

यस्तो छ इन्द्रजात्राबारेको इतिहास

कला, संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष संस्कृतिविद् डा. इन्दुल केसीका अनुसार येन्यापुन्ही (इन्द्रजात्रा) को अर्थ इन्द्रको जात्रा हो । लोककथन अनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई चतुर्मासको व्रत बस्नका लागि पारिजातको फूल आवश्यकता भएको हुन्छ । तर स्वर्गमा नपाएपछि इन्द्रले आफ्नो छोरा जयन्तलाई पारिजातको फूल खोज्न पृथ्वीमा पठाउँछ ।

फूल खोज्दै जाने क्रममा दैत्यहरूको बगैँचामा परिजात फूल टिप्दै गरेको हुन्छ । त्यहीबेला राक्षसहरूले जयन्तलाई पक्राउ गरिन्छ । त्यसपछि दुई हात पछाडि बाँधेर चोकमा उभ्याएर राखेको हुन्छ । यो कुराको चाल पाएर इन्द्र छोरा जयन्तलाई राक्षसहरुको चुङ्गुलबाट छुटाउन प्रयास गर्छन् । यसका लागि इन्द्रले आफ्नो बहान हात्ती लिएर राक्षसहरूसँग युद्ध गर्न पृथ्वीमा पुग्दछन् । युद्धमा राक्षसलाई हराएर उनीहरूकै हातबाट डोरी काट्न लगाई छोरा जयन्तलाई छुटाएर लैजाने धार्मिक ग्रन्थ देवी पुराणमा उल्लेख भएको डा केसी बताउनुहुन्छ ।

भक्तपुरको इन्द्रजात्रा नगरका टोलटोलमा यमद्य ठडाएर सुरु हुन्छ । हप्ता दिनसम्म मनाइने इन्द्रजात्राको पहिलो दिन भक्तपुर नगरपालिका क्षेत्रका २१ टोलमा २१ वटा यस्ता लिङ्गोहरु उठाइएको हुन्छ । स्थानीय टोलवासी मिलेर यसरी यम द्यः उठाउने गरिन्छ । परम्परा अनुसार यो वर्ष स्थानीय टोलबासीले यमद्यो बिहीबार उठाएका छन् । करिब २० देखि ३० हात अग्लो हात भएका यमद्योहरु नगरका ठाउँठाउँमा ठड्याइएका हुन्छन् ।

नगरको सूर्यमढी, दतात्रय, गोल्मढी, सुकुलढोका, चासुखेल, नासमनालगायतका ठाउँठाउँमा यस्ता यम द्यो उठाइएका छन् । यसवर्ष भक्तपुरमा मुपात्र जात्रा असोज १२ गते सुरु भएर १४ गते समापन हुँदैछ ।