आगामी माघ १ गते स्वयम्भूको भुइँखेलमा महादान आयोजना हुनेछ । परम्पराअनुसार महादान दुई दिन मनाइन्छ । पहिलो दिन हनुमानढोकामा र दोस्रो दिन स्वयम्भूको भुइँखेलमा महादान गर्ने परम्परा रहेको छ । काठमाडौंमा पछिल्लो पटक २०६१ सालमा महादान आयोजना गरिएको थियो ।
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा मूल समारोह समितिको संयोजकमा नेपाल बज्रयान महाविहार लुम्बिनीका चक्रेश्वर प्रा. डा. नरेशमान बज्राचार्य चयन हुनुभएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, महाविहार संघ काठमाडौंका अध्यक्ष शुभकाजी शाक्य र उराय् समाज काठमाडौंका सदस्य डा. सुमनकमल तुलाधर सहसंयोजक रहनुभएको छ । मूलश्री महाविहार काठमाडौंका समज्वल बज्राचार्य सदस्य–सचिव रहनुभएको छ ।
त्यस्तै, कार्यवाहक प्रमुख डंगोलकै अध्यक्षतामा ३७ सदस्यीय कार्यान्वयन समिति पनि गठन गरिएको छ । समितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता, विभिन्न विषयगत समितिका संयोजक, प्रहरी तथा महानगरपालिकाका सम्बन्धित विभागका प्रमुखसहित बौद्ध समुदायका प्रतिनिधि सदस्य रहेका छन् । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य–सचिव रहने समितिमा प्रमुखले थप नौ जना सदस्य तोक्ने व्यवस्था गरिएको छ ।
महादान आयोजनाका लागि कार्यान्वयन समिति मातहत १३ वटा उपसमिति गठन गरिएको छ । पूजा, दान तथा दाता व्यवस्थापन, देवता निमन्त्रण, अभिलेखीकरण तथा प्रकाशन, सम्यक् भोजन, स्थान व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात तथा ढुवानी, सांस्कृतिक, स्वास्थ्य, प्रचारप्रसार, आर्थिक, सुरक्षा तथा खाजा–खाना व्यवस्थापनका लागि उपसमिति गठन गरिएको महानगरपालिकाले जनाएको छ ।

कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले पुस्तान्तरण हुन नसक्दा मौलिक तथा अमूर्त सम्पदा हराउँदै जाने जोखिम बढेकाले महानगरपालिकाले महादान आयोजना गर्न लागेको बताउनुभयो ।
उहाँले आफ्नो पुस्ताले समेत सम्यक् महादान प्रत्यक्ष रूपमा देख्न नपाएको उल्लेख गर्दै अघिल्लो पुस्ताबाट सिकेर पछिल्लो पुस्तामा संस्कार हस्तान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो । मूर्त सम्पदा जीर्ण वा क्षतिग्रस्त हुँदा देखिने भए पनि अमूर्त सम्पदा हराउँदै गएको तत्काल थाहा नहुने भएकाले यसको संरक्षणमा महानगरले समुदायसँग सहकार्य गर्ने उहाँको भनाइ थियो ।
मूल समारोह समितिका संयोजक प्रा. डा. नरेशमान बज्राचार्यले बौद्ध दर्शनमा ‘दान’लाई मानव कल्याणका लागि महत्वपूर्ण अभ्यासका रूपमा लिइएको बताउनुभयो । उहाँले मानव कल्याण र विश्व शान्तिका लागि प्राचीन दान परम्परालाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा पञ्चदान, ऐच्छिक पञ्जरा दान, नराँ पञ्जरा दान तथा निश्चित अन्तरालमा आयोजना हुने महा सम्यक् दानलगायतका दान परम्परा प्रचलनमा छन् । तीमध्ये ‘सम्यक् महादान’ सबैभन्दा महत्वपूर्ण, कठिन र दुर्लभ मानिन्छ ।
सम्यक् महादानमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट दीपंकर बुद्धका मूर्तिसहित बौद्ध देवदेवीलाई निमन्त्रणा गरी एकै स्थानमा विराजमान गराउने, पूजापाठ तथा दान–दक्षिणा अर्पण गर्ने र बौद्ध संघका सदस्यलाई दान प्रदान गर्ने परम्परा रहेको छ । यसका लागि ठूलो आर्थिक स्रोत, श्रम र व्यवस्थापन आवश्यक पर्ने भएकाले पछिल्लो समय व्यक्तिगत तथा समुदायस्तरबाट यसको आयोजना कठिन हुँदै गएको बताइएको छ ।
महादानको मुख्य आकर्षण दीपंकर बुद्धका विशाल धातु मूर्तिहरूको प्रदर्शन पनि हो । बौद्ध परम्पराअनुसार दीपंकर बुद्धसँग जोडिएको दान परम्परालाई स्मरण गर्दै महादान आयोजना गरिन्छ । ठूलो संख्यामा दीपंकर बुद्धका मूर्ति प्रदर्शन, विभिन्न बौद्ध देवदेवीको जमघट, बौद्ध संघका सदस्यको सहभागिता तथा सामूहिक दान अर्पण महादानका प्रमुख विशेषता हुन् ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटमै काठमाडौं उपत्यकाको प्राचीन सांस्कृतिक पहिचानसँग जोडिएको सम्यक् महादान आयोजना गर्ने कार्यक्रम समावेश गरेको थियो । महानगरले यसलाई अमूर्त सम्पदा संरक्षण, पुस्तान्तरण तथा समुदायको सामूहिक सहभागिता बढाउने उद्देश्यसँग जोडेको छ।







