काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बाङ्गेमा विशाल पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खसेपछि दुवैतर्फी यातायात ठप्प भएको हो। राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन्।

बाङ्गे क्षेत्र यसअघि त्रिशूली नदीमा आएको बाढीका कारण अत्यधिक कटानमा परेको संवेदनशील क्षेत्र हो। स्थानीय प्रशासनका अनुसार लामो समयदेखिको वर्षाका कारण जमिन कमजोर बनेको र भिरालो भूगोलका कारण पहिरो खसेको हो।
बाढीको उच्च जोखिम झेलिसकेको क्षेत्रमा पुनः पहिरो खसेपछि राजमार्ग सञ्चालनमा ल्याउन थप चुनौती देखिएको छ। सडक अवरुद्ध भएसँगै काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने मुख्य मार्गमा सवारीसाधनको लामो लाइन लागेको छ।
प्रहरीले यात्रामा निस्कनुअघि ट्राफिक प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्र भएकाले थप पहिरोको जोखिम रहेको भन्दै प्रशासनले सावधानी अपनाउनसमेत आग्रह गरेको छ।
–न्युज एजेन्सी नेपाल







