पेरिस । पोप लियो चौधौं शुक्रबार फ्रान्स आइपुग्नुभएको छ । फ्रान्समा यो उहाँको १८ वर्षपछिको पहिलो आधिकारिक भ्रमण हो । यस भ्रमणमा कृत्रिम बुद्धिमत्ता (एआई), धार्मिक आस्थावान युवाहरूसँगको भेट र भविष्यमा यूरोपको एजेन्डा के हुने भन्ने बिषयलाई केन्द्रमा राखी भेटघाट छलफल तथा सम्बोधन गर्ने कार्यक्रम छ ।
गत बर्ष पोपमा निर्वाचित लियो चौधौँकी हजुरआमा (बुवाकी आमा) फ्रान्समा जन्मनुभएको थियो । उहाँ स्थानीय समयअनुसार शुक्रबार बिहान करिब १०ः०० बजे पेरिस नजिकै अवतरण गर्दा देशभर चर्चका घण्टीहरू बज्न थालेका थिए । उहाँ चार दिनसम्म फ्रान्समा रहनुहुनेछ ।
राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उहाँकी पत्नी ब्रिजिटले विमानस्थलमा ७१ वर्षीय पोपलाई स्वागत गर्नुभएको थियो । भ्याटिकन प्रमुख पोप बेनेडिक्ट सोर्हौंको सन् २००८ सेप्टेम्बरपछिको यो उहाँको पहिलो आधिकारिक भ्रमण हो।
“म फ्रान्समा पनि संसारको जुनसुकै ठाउँमा जस्तै येशू ख्रीष्टका अनुयायीका रूपमा यात्रा गर्दैछु, जसले संसारभर ख्रीष्टको शान्ति घोषणा गर्न चाहन्छ,” पोप लियोले विमानमा पत्रकारहरूसँग भन्नुभयो ।
उहाँले यो सन्देश ‘अहिलेको समयमा विशेष रूपमा महत्वपूर्ण’ रहेको बताउनुभयो । पेरिसका विभिन्न कार्यक्रमहरूमा पहिलो दुई दिनमा करिब १० लाख मानिसहरूको उपस्थिति अपेक्षित छ ।
म्याक्रोँलाई प्रतिस्थापन गर्ने र दक्षिणपन्थी शक्ति हावी हुनसक्ने अनुमान गरिएको निर्वाचन हुन सात महिना मात्र बाँकी रहँदा पोपले एआईले निम्त्याएको जोखिम, बसाइँसराइ सङ्कट, पादरीहरूद्वारा हुने यौन दुव्र्यवहार र युरोपमा शान्ति जस्ता विषयहरूमा कुरा गर्ने अपेक्षा गरिएको छ ।
संसारका १.४ अर्ब क्याथोलिकहरूका नेता पोप लियोले शुक्रबार राष्ट्रपति म्याक्रोँसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उहाँले युनेस्को मुख्यालयमा एआईलाई नियमन गर्नुपर्ने आवश्यकतामा केन्द्रित सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
पेरिसपछि पोप लियो दक्षिण–पश्चिमी फ्रान्सको लुर्द जाने कार्यक्रम तय भएको छ । (रासस/एएफपी)








