९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का

गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नयाँ पुस्ताको भूमिका र पार्टीभित्र पुस्तान्तरणको बहस थप तीव्र बन्दै गएको छ । यसै पृष्ठभूमिमा कांग्रेस नेत्री बिनिता खड्काले नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति केवल उमेर घटाउने विषय नभई संघर्ष गर्ने, जोखिम उठाउने र जिम्मेवारी सम्हाल्ने राजनीतिक संस्कार विकास गर्ने विषय भएको बताएकी छन् ।

खड्काले सभापति गगन थापाको राजनीतिक यात्राबाट अहिलेका युवाले साहस र राजनीतिक प्रतिबद्धताको पाठ सिक्नुपर्ने धारणा राखिन् । सहज बाटो रोजेर नयाँ नेतृत्व स्थापित नहुने भन्दै उनले आफ्नो विश्वासको विषयमा उभिन सक्ने र आवश्यक पर्दा जोखिम लिन सक्ने युवाको आवश्यकता रहेको पनि बताइन् ।

“गगन थापाले गर्नुभएको संघर्ष र उहाँले लिनुभएको राजनीतिक जोखिमबाट अहिलेको पुस्ताले सिक्नुपर्छ । नेतृत्वमा आउनु भनेको पदमा पुग्नु मात्रै होइन, कठिन समयमा पनि आफ्नो विचारमा उभिन सक्नु हो । अबका युवाले पनि त्यही हिम्मत गर्नुपर्छ,” खड्काले भनिन् ।

उनले आफू त्यस्ता युवालाई राजनीतिक यात्रामा अघि बढ्न सहयोग गर्ने बताएकी छन् । उनका अनुसार नयाँ पुस्तालाई पार्टीमा जोड्ने बहस केवल प्रतिनिधित्व र संख्यामा सीमित राखेर पुग्दैन । निर्णय प्रक्रियामा सहभागी हुने, जिम्मेवारी लिने र आफ्नो क्षमताअनुसार नेतृत्व गर्ने अवसर पनि सिर्जना गर्नुपर्छ ।

खड्काको भनाइमा अहिलेको पुस्ताले गगन थापाको शैलीको नक्कल गर्नुभन्दा उहाँले देखाउनुभएको राजनीतिक अभ्यासबाट सिक्नुपर्छ । असहज विषयमा पनि बोल्ने, स्थापित धारणासँग आवश्यक पर्दा असहमति राख्ने र परिवर्तनका लागि राजनीतिक जोखिम मोल्ने संस्कारलाई उनले नयाँ पुस्ताको नेतृत्व विकाससँग जोडिन् ।

“हामीले गगन थापाजस्तो बन्ने होइन, उहाँले देखाउनुभएको साहसबाट आफ्नो बाटो बनाउने हो,” खड्काले भनिन्, “हाम्रो पुस्ताले प्रश्न गर्न सक्नुपर्छ, निर्णय लिन सक्नुपर्छ र निर्णयको जिम्मेवारी पनि लिन सक्नुपर्छ ।”

कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने सवालमा खड्काले पार्टीको कार्यशैली पनि बदलिनुपर्ने बताइन्। युवालाई चुनावी अभियानका बेला परिचालन गर्ने र त्यसपछि फेरि पर्खाइमा राख्ने प्रवृत्तिले पुस्तान्तरण सम्भव नहुने उनको तर्क छ ।

उनका अनुसार “नाराभन्दा नीति, भाषणभन्दा परिणाम र पदभन्दा जिम्मेवारी” लाई प्राथमिकता दिने राजनीतिक संस्कार अब कांग्रेसको संगठनात्मक अभ्यास बन्नुपर्छ । नागरिकले चुनावका बेला मात्र होइन, समस्या पर्दा पनि सम्झने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्ने उनको जोड छ ।

सभापति गगन थापाले पनि कांग्रेसलाई केवल निर्वाचनमा केन्द्रित पार्टीका रूपमा नराखी समाजसँग जोड्ने र नागरिकको भरोसा जित्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सार्वजनिक धारणा राख्दै आएका छन् ।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ । पार्टीको निर्वाचन समितिका अनुसार अहिले विभिन्न तहका अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ ।

खड्काले महाधिवेशनलाई आफू वा कुनै एक समूहको राजनीतिक अवसरभन्दा पनि कांग्रेसले आगामी दिनमा कस्तो संगठन र कस्तो राजनीतिक संस्कार अपनाउने भन्ने बहसको थलो बनाउनुपर्ने बताएकी छन् ।

“हामीले पुरानो पुस्ताको संघर्षबाट विरासत पाएका छौँ । अब त्यसमा हाम्रो पुस्ताको साहस र काम थप्नुपर्छ । पद पाएपछि मात्र जिम्मेवारी सुरु हुँदैन, जिम्मेवारी लिन तयार भएपछि नेतृत्वको यात्रा सुरु हुन्छ,” खड्काले भनिन् ।