काठमाडौं: विपद् प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र यसको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ३१ लाख ३२ हजार ५५२ सहयोग गरेका छन्।
नेपाल सरकार, अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानले रु. १ करोड १ लाख १ तथा प्रतिष्ठानका सम्पूर्ण कर्मचारीको एक दिन बराबरको पारिश्रमिकबाट रु. ८ लाख ५१ हजार ३५१ कोषमा जम्मा गरेको हो।
त्यसैगरी, प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाले रु. २१ लाख ८१ हजार २०० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।
सहयोग रकमको चेक तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।
विपद्को कठिन अवस्थामा प्रभावित समुदायको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले विपद्को यस कठिन घडीमा सबै नेपालीलाई एकअर्काको दुःख–सुखमा साथ दिँदै एकजुट हुन र प्रभावित समुदायको पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रहसमेत गरेको छ।









