काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवाको भोटेकोशी बाढीपछि नागरिकको उद्धार तथा व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनुभएको छ ।
बिहीवार बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै थापाले बाढी आएको पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम गरे पनि त्यसपछि योजनाबद्ध रूपमा अघि बढ्न नसकेको बताउनुभयो ।
उहाँले विपद्पछिको उद्धारमा मित्रराष्ट्रबाट प्राप्त हुनसक्ने सहयोग समयमै लिन नसक्दा समस्या थपिएको दाबी गर्नुभयो । जलविद्युत आयोजनाका सुरुङभित्र अझै मानिसहरू रहेको आशंका हुँदासमेत उद्धार टोली सुरुङसम्म पुग्न नसकेको उहाँको भनाइ थियो ।
सुरुङ निर्माणका क्रममा तयार गरिएका नक्सा तथा प्राविधिक विवरण सम्बन्धित निकायसँग हुँदाहुँदै पनि उद्धारका लागि प्राविधिक टोली सुरुङको वरिपरिसम्म समेत तत्काल पुग्न नसकेको उहाँले बताउनुभयो । सरकारले सुरुङभित्र रहेका मानिसको उद्धार गरिएको भन्दै गलत प्रचार गरेको आरोपसमेत उहाँले लगाउनुभयो ।
उहाँले भन्नुभयो, “बाहिर र साइड–साइडमा भएका मानिसलाई उद्धार गरेका हौँ, त्यो ठीक हो । तर अहिलेसम्म कुनै पनि टनेलभित्र पसेर मानिसको उद्धार गर्न सकेका छैनौँ ।”
थापाले त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अझै मानिस जीवित रहेको हुनसक्ने भन्दै उद्धारको प्रयास जारी राख्नुपर्नेमा जोड दिनुभयो । दैलेखका पाँच जनामध्ये दुई जना सुरुङभित्र रहेको आशंका रहेको उल्लेख गर्दै उहाँले त्यहाँ सुरक्षित रूपमा बस्न सकिने स्थान रहेको प्राविधिकहरूले बताइरहेकाले उनीहरू जीवितै रहेको आशा राखिएको बताउनुभयो ।
विपद्का बेला विदेशी सहायता लिन सरकारले हिच्किचाउन नहुने उहाँको भनाइ थियो । उहाँले स्थानीय तह र प्रदेश सरकारसँग पनि प्रभावकारी समन्वय हुन नसकेको आरोप लगाउँदै स्थानीय तहलाई तुइन व्यवस्थापन तथा आवश्यक उद्धार कार्य गर्नसमेत सरकारले पर्याप्त अवसर नदिएको बताउनुभयो ।
थापाले बाढी आएको पहिलो दुई दिनको उद्धारमा भने सरकारको आलोचना गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । सीमित स्रोतसाधनका बीच तत्कालीन अवस्थामा राज्यले गर्न सक्ने काम गरेको भए पनि त्यसपछि पूर्वयोजना बनाएर अघि बढ्न नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ थियो ।
“दुई दिनभित्र राज्य, सरकारले र हामीले जति गर्न सक्थ्यौँ, त्यति गर्यौँ । त्यसका लागि खासै कुनै गुनासो छैन । तर दुई दिनपछि हामी धेरै हदसम्म सम्हालिइसकेका थियौँ । त्यसपछि पूर्वयोजनासहित अगाडि बढ्नुपर्थ्यो, तर हामी त्यसमा चुकेका छौँ,” उहाँले भन्नुभयो ।
राहत सामग्री पर्याप्त भए पनि वितरणमा समस्या देखिएको थापाले बताउनुभयो । कतिपय प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधारको अभावका कारण राहत सामग्री पुग्न नसकेको उल्लेख गर्दै उहाँले प्रभावित क्षेत्रमा विद्युत् सेवा तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।









