काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियास्थित जी मनि ट्रान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ हजार अमेरिकी डलर (करिब २२ लाख ८० हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ।
बाढी प्रभावित नागरिक तथा समुदायको राहत, पुनःस्थापना र आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जी मनि ट्रान्सले जनाएको छ।
विपद्को कठिन परिस्थितिमा कोरियामा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले कम्पनीले कोरियाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्दै आएको जनाएको छ।
कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
त्यसैगरी, बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ।
जी मनि ट्रान्सले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिन तथा राहत र पुनःस्थापना अभियानमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरेको छ।









