काठमाडौं । नेपाली कांग्रेसले विभिन्न मुलुकमा लामो समयदेखि राजदूत पद रिक्त रहेको भन्दै तत्काल राजदूत नियुक्ति गर्न सरकारसँग आग्रह गरेको छ।
हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले राजदूत नियुक्तिमा भएको ढिलाइप्रति चासो व्यक्त गर्दै लामो समयसम्म राजदूत पद रिक्त रहँदा नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेको हो।
पार्टी प्रवक्ता देवराज चालिसेले राजदूत देशको प्रतिनिधित्व गर्ने महत्वपूर्ण संस्था भएकाले लामो समयसम्म पद रिक्त राख्नु उचित नभएको बताउनुभयो। उहाँले विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले कूटनीतिक नियोगमा आवश्यक नेतृत्व र जनशक्ति अभावका कारण पासपोर्ट नवीकरणदेखि मृतकको शव नेपाल ल्याउनेसम्मका सामान्य काममा समेत समस्या भोग्नुपरेको बताउनुभयो।
चालिसेले विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सलाई मात्र प्राथमिकता नदिई उनीहरूको जीवन, सुरक्षा र समस्याप्रति समेत सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो।
उहाँले कतिपय मुलुकमा नेपाली नागरिकको मृत्यु हुँदा समेत कूटनीतिक निकायको अभावका कारण लामो समयसम्म शव नेपाल ल्याउन नसक्ने अवस्था रहेको उल्लेख गर्दै तत्काल आवश्यक नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
कांग्रेसले विभिन्न सरकारी निकायमा अध्यादेशमार्फत पदाधिकारीलाई अवकाश दिएर नयाँ नियुक्ति गरिएको विषयमा समेत प्रश्न उठाएको छ। पुराना पदाधिकारी हटाएर योग्य व्यक्ति नियुक्त गर्ने दाबी गरिए पनि पछिल्ला नियुक्तिमा सत्तासँग निकट व्यक्तिलाई प्राथमिकता दिइएको देखिएको कांग्रेसको आरोप छ।
सरकारी नियुक्तिमा पारदर्शिता, निष्पक्षता र योग्यता प्रणाली पूर्ण रूपमा अवलम्बन नभएको भन्दै कांग्रेसले यस विषयलाई गम्भीर चासोका रूपमा लिएको जनाएको छ।
कांग्रेसले नागरिकका दैनिक समस्या, राष्ट्रिय विपद्, सामाजिक सद्भाव, कूटनीतिक प्रतिनिधित्व तथा सरकारी नियुक्तिलगायतका विषयमा सरकारलाई जवाफदेही र जिम्मेवार बन्न आग्रह गरेको छ।











