२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु



अ+ अ-

किएभ। उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

युद्ध सुरु भएयताका पछिल्ला महिनामा नागरिक हताहत बढिरहेका बेला भएको यस हमलाको युक्रेनले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

खार्किभ क्षेत्रका गभर्नर ओलेग सिनेगुबोभका अनुसार रुसी सीमाबाट करिब ४० किलोमिटर टाढा रहेको पेचेनिगी गाउँमा रकेट प्रहार गरिएको थियो । उहाँले सामाजिक सञ्जालमार्फत प्रारम्भिक विवरणअनुसार १० जनाको मृत्यु भएको र १७ जना घाइते भएको जानकारी दिनुभएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हमला व्यस्त चौबाटोमा भएको बताउनुभएको छ । उहाँका अनुसार उक्त क्षेत्रमा हुलाक कार्यालय र पसलहरू रहेका थिए भने चारैतिर आवासीय भवन थिए ।

युक्रेनी आपत्कालीन सेवाले सार्वजनिक गरेका घटनास्थलका तस्बिरमा उद्धारकर्मीहरू भग्नावशेषमा खोज तथा उद्धार कार्यमा खटिएको देखिन्छ । आक्रमणका कारण भवनहरू ध्वस्त भएका छन् भने घटनास्थलमा धुवाँ फैलिएको र केही सवारीसाधनमा आगो लागेको देखिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रुसी हमलाको जवाफ दिने बताउँदै अन्तर्राष्ट्रिय साझेदार राष्ट्रहरूले पनि रुसमाथि दबाब बढाएर युक्रेनको समर्थनमा थप कदम चाल्नुपर्ने बताउनुभयो ।

“हामी निश्चित रूपमा यो रुसी आक्रमणको जवाफ दिनेछौँ”, उहाँले सामाजिक सञ्जालमा भन्नुभयो । उहाँले युक्रेनको प्रतिक्रियालाई सहयोगी राष्ट्रहरूले रुसमाथि दबाब र युक्रेनलाई समर्थन गर्ने आफ्ना कदममार्फत थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

खार्किभ क्षेत्रको केही भूभाग रुसी सेनाको नियन्त्रणमा छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेदेखि यो क्षेत्र निरन्तर रुसी आक्रमणको निशानामा पर्दै आएको छ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घले रुस–युक्रेन युद्धमा पछिल्ला महिनामा नागरिक हताहतको सङ्ख्या युद्ध सुरु भएयताकै अन्य अवधिको तुलनामा उच्च रहेको जनाएको छ ।

युद्ध लम्बिँदै जाँदा आवासीय क्षेत्र तथा नागरिक पूर्वाधारमाथिका आक्रमणले सर्वसाधारणको जोखिम थप बढाएको राष्ट्रसङ्घले जनाएको छ ।  (रासस/एएफपी)