काठमाडौँ । स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित प्रहरीले काठमाडौँबाट एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको ठमेल बस्ने २० वर्षीय युवराज घतानी रहेका छन् ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले शनिबार दिउँसो काठमाडौँ महानगरपालिका–२६, ठमेलस्थित सञ्चयकोष सडकखण्डमा चेकजाँच गर्ने क्रममा घतानीलाई पक्राउ गरेको हो ।
केशरमहलबाट भीआईपी चोकतर्फ जाँदै गरेको बा.९७ प. २६४४ नम्बरको स्कुटर रोकेर जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १३ लाख ७५ हजार बरामद भएको प्रहरीले जनाएको छ ।
घतानीलाई हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









