काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, सङ्कीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने दाबी गर्नुभएको छ ।
जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढिसकेको भन्दै उहाँले यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताउनुभएको हो ।
आईतवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै ओलीले नेपाली जनताको सङ्घर्ष निरन्तर उपलब्धितर्फ अघि बढिरहेको बताउनु भयो ।
उहाँले नेपालको राजनीतिक परिवर्तनको यात्रामा कहिले राणा शासन, कहिले पञ्चायत र कहिले अधिनायकवादी सोचले अवरोध पु¥याए पनि जनताको सङ्घर्ष नरोकिने बताउनु भयो ।
कहिलेकाहीँ आन्दोलन सुस्त भएको वा अवरोध आएको देखिए पनि त्यसलाई स्थायी रोकावटका रूपमा लिन नहुने उहाँको भनाइ छ ।
उहाँले राणा शासन १०४ वर्ष र पञ्चायत व्यवस्था ३० वर्ष चलेको तथा ज्ञानेन्द्रले २०६१ माघ १९ मा प्रत्यक्ष शासनको प्रयास गरे पनि २०६३ वैशाख ११ मा त्यसको अन्त्य भएको स्मरण गर्नुभयो ।
त्यसपछि २०६५ जेठ १५ गते राजतन्त्र नै समाप्त भएको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनलाई उल्ट्याउने प्रयास लामो समय सफल हुन नसक्ने बताउनु भयो । ओलीले अहिलेको जनचेतनाको स्तर र राजनीतिक परिवर्तनको ऐतिहासिक महत्त्व जनताले बुझेका कारण परिवर्तनको यात्रालाई लामो समय रोक्न सम्भव नरहेको दाबी गर्नुभयो । उहाँले समर्थक तथा नागरिकलाई धैर्य राख्न आग्रह गरे पनि निष्क्रिय भएर पर्खेर नबस्न सुझाव दिनुभयो । संघर्षबाट पछि हटे उपलब्धि गुम्न सक्ने भन्दै उहाँले निरन्तर आवाज उठाउन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले अघि नै भनेँ, हामी लामो समयदेखि सङ्घर्ष गर्दै आएका छौँ र उपलब्धि हासिल गर्दै यो ठाउँसम्म आइपुगेका छौँ । हाम्रो सङ्घर्षमा कहिलेकाहीँ अवरोध आएको छ, गति सुस्त भएको छ, अधिनायकवादी सोच र व्यवस्थाले रोकेको छ । राणा शासनदेखि पञ्चायतसम्म र त्यसपछि पनि विभिन्न समयमा हाम्रो यात्रालाई रोक्ने प्रयास भए । तर अहिले जनचेतना जुन स्तरमा पुगेको छ र स्वतन्त्रता तथा परिवर्तनको ऐतिहासिक महत्त्व जनताले जुन रूपमा बुझेका छन्, त्यस अवस्थामा प्रतिगामी वा स्वतन्त्रताविरोधी कदमले लामो समयसम्म टिक्न सम्भव छैन । राणा शासन १०४ वर्ष टिक्यो, पञ्चायत करिव ३० वर्ष टिक्यो र ज्ञानेन्द्रको प्रत्यक्ष शासन पनि लामो समय टिक्न सकेन । इतिहासले देखाइसकेको छ । जनताको चेतना र परिवर्तनको चाहनालाई लामो समय रोक्न सकिँदैन । त्यसैले म तपाईंहरूलाई धैर्य गर्न आग्रह गर्छु, तर पर्खेर बस्न होइन । आफ्नो आवाज निरन्तर उठाइरहनुपर्छ । लक्ष्मीप्रसाद देवकोटाको कविताको एउटा भाव छ–‘नलडी कोही हुँदैन विजेता । त्यसैले गिभअप नगर्नुहोस्, ह्यान्ड्सअप नगर्नुहोस् । तपाईंहरूको आवाज सही छ । त्यसलाई निरन्तरता दिनुहोस् ।’
उहाँले अधिकार र स्वतन्त्रताको पक्षमा उठेको आवाजलाई निरन्तरता दिन आग्रह गर्दै संघर्षबाट ‘गिभ अप’ वा ‘ह्यान्ड्स अप’ गरे परिवर्तनको सम्भावना समाप्त हुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल









