इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नेकपाको पछिल्लो कार्यविभाजनलाई लिएर असन्तुष्ट छ । तर, नेता खनालले पार्टीभित्र विगतमा समस्या भए पनि अहिले नरहेको जिकिर गरेका छन् ।
‘पार्टी एकीरणको सुरुआतमा केही असहजता देखिएका थिए । यद्यपि, अहिले त्यो समाधान भइसकेको छ’, गृह जिल्ला इलामको फिक्कलमा नेकपाले आयोजनाका गरेको कार्यक्रममा नेता खनालले भने । नेता नेपालले आफ्ना असहमतिहरू सार्वजनिक गरिसकेका छन् ।
५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित नयाँ नेपालको संविधान बनाउन सफल भएको भन्दै अहिलेको संविधानलाई प्रत्येक पार्टीका सदस्य, जनप्रतिनिधिहरुले गहन रूपले अध्ययन गर्न उनले बताए । स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने खनालले बताएका हुन् ।