काठमाडौँ । शनिबार र आइतबार आएको बाढीले बगाएर नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता पुर्याएको गैँडाको उद्धार गरी चितवन ल्याउन लागिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को प्राविधिक टोलीले गैँडालाई ‘डार्ट’ गरेर उद्धार गर्न लागेको हो । उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. अमित सडौलाको नेतृत्वमा टोली सोमबार नै सुस्ता पुगेको थियो ।
आज दिउँसो नवलपरासीको लौघारीबाट दुई वटा हात्ती उद्धारस्थलमा पुगेपछि गैँडालाई डार्ट गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार गैँडालाई डार्ट गरेपछि ट्रकमा राखेर चितवन ल्याइनेछ ।
झाडीमा रहेका कारण गैँडाको उमेर र लिङ्ग यकिन गर्न नसकिए पनि टाढाबाट गरिएको अवलोकनका आधारमा प्राविधिकहरूले करिब पाँच वर्षको पोथी गैँडा हुनसक्ने बताएका छन् ।
नारायणी नदीमा आएको ठूलो बाढीले नदी तटीय क्षेत्रबाट गैँडालाई बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको हो । हालसम्म बाढीले बगाएर सुस्ता पुगेको एउटा गैँडाको मात्र सूचना प्राप्त भएको छ । तर, अन्य गैँडा तथा वन्यजन्तु पनि बाढीले बगाएर भारततर्फ पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि २०७४ साल साउन २८ गते राप्ती र नारायणी नदीमा आएको ठूलो बाढीका क्रममा पनि धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमिमा पुगेका थिए । तत्कालीन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. रामचन्द्र कँडेलका अनुसार त्यसबेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडालाई उद्धार गरी नेपाल ल्याइएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार ६९४ वटा गैँडा रहेका छन्।








