काठमाडाैँ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग तथा व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
मंगलबार रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले उद्योगी व्यवसायीसँग सरसल्लाह गरी उनीहरूले भोगिरहेका समस्या पहिचान र समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
भण्डारीले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । यी पूर्वाधारले लुम्बिनीको पहिचानलाई थप विस्तार गरेको उहाँको भनाइ थियो ।

उहाँले आफूले पहिलोपटक पार्टी उपाध्यक्षको जिम्मेवारी लुम्बिनीमै पाएको स्मरण गर्दै त्यतिबेला अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदानलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने विषय उठाइएको र अहिले ती संरचना निर्माण सम्पन्न भएको बताउनुभयो ।
“अब उद्योग व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा उद्योग व्यवसायमा लागेका मित्रहरूसँग सरसल्लाह गरी औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अगाडि बढ्नुपर्नेछ,” उहाँले भन्नुभयो ।
भण्डारीले नेकपा (एमाले) ले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा खुशी व्यक्त गर्दै औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने अझै टुंगो लाग्न बाँकी रहेको बताउनुभयो । उहाँले आफू वरिष्ठ नेता बन्न नचाहेको भए पनि पार्टीका नेताहरूले जिम्मेवारी दिएको उल्लेख गर्नुभयो ।
हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनयन गरेको थियो । वरिष्ठ नेता मनोनयनपछि उहाँको यो उपत्यकाबाहिरको पहिलो भ्रमण हो।







