काठमाडौं । अविरल वर्षाका कारण पहिरो गएर विगत केही दिनदेखि पूर्णरूपमा अवरुद्ध रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी वर्षाका कारण कान्ति लोकपथका विभिन्न खण्डमा ठूला पहिरो गएपछि काठमाडौँ–हेटौँडा जोड्ने छोटो मार्गमा यातायात सेवा अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन प्रत्यक्ष प्रभावित भएका थिए ।

सडक अवरुद्ध भएपछि सडक डिभिजन कार्यालयले प्राविधिक टोली तथा आवश्यक उपकरण परिचालन गरी पहिरो पन्छाउने काम थालेको थियो । लामो प्रयासपछि पहिरो हटाएर सडकलाई यातायात सञ्चालनयोग्य बनाइएको हो ।
हालका लागि सडकमा एकतर्फी सवारी आवागमन खुला गरिएको छ । तर, निरन्तरको वर्षाका कारण सडकका विभिन्न भाग अझै जोखिमपूर्ण अवस्थामा रहेकाले सावधानीपूर्वक यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ ।
सडकलाई पूर्ण क्षमतामा दुईतर्फी सञ्चालन गर्न आवश्यक मर्मत तथा सुधारको काम भने जारी रहेको जनाइएको छ।







