काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह आगामी असोज १८ गते हुने भएको छ । पार्टीले महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने जनाएको छ ।
कांग्रेसले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू सञ्चालन भइरहेको जानकारी दिएको छ ।
देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट जानकारी प्राप्त भएको कांग्रेसले जनाएको छ ।
यही परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा गर्ने निर्णय गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।








